अवैध लागूऔषधसहित ८ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 24 | 03:53 pm 1835

काठमाडौं, असोज ७:  छुट्टाछुट्टै स्थानबाट ८ जनालाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट ट्रकभित्र १४ वटा पोकामा रहेको ७८ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ना ६ ख १३१ नम्बरको ट्रक चालक पर्सा वीरगंज महानगरपालिका २९ का ३५ वर्षीय अफ्रिका चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उक्त ट्रकमा जाँच गर्ने क्रममा प्रहरीलाई अभद्र व्यवहार गरी भागेपछि प्रहरीले पिछा गर्दै पेस्तोलबाट गोली फायर गरी ट्रक चालक चौधरीलाई पक्राउ गरेको हो ।

खुट्टामा गोली लागी घाइते भएका ट्रक चालक चौधरीको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी कर्मचारी समेत सामान्य घाइते भएका छन् ।

ट्रकका सहचालक रौतहट गरुडा नगरपालिका ४ का २० वर्षीय विवेक चौधरी हाल फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी ईटहरी उपमहानगरपालिका १२ डेरा गरी बस्ने मोरङ सुन्दर हरैचा नगरपालिका ६ का ४९ वर्षीय तिर्थकुमार तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय ८० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै नेपालगंज उपमहानगरपालिका १६ बाट दाङ तुल्सिपुर नगरपालिका ६ राजापुरका १८ वर्षीय प्रदिप वलीलाई ६ ग्राम लागूऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले रुपैडिहाबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी बुङगल नगरपालिका २ सुङरबगरबाट अवैध लागूऔषध चरेश करिब ४ दशमलव ५ किलो सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँका २२ वर्षीय जयबहादुर धामी, ३७ वर्षीय पदम जाग्री र २२ वर्षीय अजयबहादुर धामी रहेका छन् । तीनै जनाको साथमा करिब १.५ /१.५ किलो गरी उक्त परिणामको लागूऔषध सहित फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.