अवैध लागूऔषध सहित सात जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 22 | 05:20 pm 2010

काठमाडौं, माघ ८ : काठमाडौं र भक्तपुरबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङगा चेकपोष्टबाट पर्सा पोखरीया नगरपालिका–४ का १८ वर्षीय अभिनास यादवलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, फेनरागन १ सय एम्पुल र नुफिन १ सय एम्पुल सहित आज मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.५ ख.६५४४ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बसमा सवार यादवलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

नागढुङगा चेकपोष्टमाबाटै चेकजाँच गर्न खटिएको प्रहरीले प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु.१ ख.८३२३ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ बस्ने २२ वर्षीय विजय भारतीलाई लागूऔषध नाईट्राभेट १ सय ५० एम्पुल, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ बस्ने २१ वर्षीय सुदिप ठकुरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने २४ वर्षीय राजु गिरीलाई लागूऔषध डाईजेपाम, फेनरागन र नुफिन गरी करिब ७५ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी धादिङ तसरपु गाउँपालिका–५ का १८ वर्षीय रमेश तामाङलाई लागूऔषध चरेश ८ सय १५ ग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा५ ख ११८० नम्बरको बस जाँच गर्ने क्रममा तामाङले कालो झोलामा लुकाइ छिपाई राखेको उक्त लागूऔषध सहित प्रहरीले उनलाई पक्राउ गरेको छ ।

त्यस्तै भक्तपुरबाट भक्तपुर नगरपालिका व्यासीबाट सोही नगरपालिका का २६ वर्षीय राजु कर्माचार्य र नगरपालिका–५ डेकोचा का २२ वर्षीय विजेस नाटलाई अवैध लागूऔषध डाईजेपाम, फेनरागन र नुफिन गरी १२ एम्पुल र सिरिन्ज ७ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । यस विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.