काठमाडौं, फागुन १० : काठमाडौं महानगरपालिका–२ लाजिम्पाट निल सरस्वतीथानबाट करिब २१ केजी अवैध लागूऔषध चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका–११ का २६ वर्षीय राम कुमार मोक्तान, २५ वर्षीय रमेश कुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र काठमाडौं महानगरपालिका–१४ बस्ने २४ वर्षीय राजेन्द्र गोले रहेका छन् ।
उनीहरुलाई लाजिम्पाट एरियामा लागूऔषध विक्रि वितरण तथा ओसार पसार हुँदैछ भन्ने विशेष सुचना आधारमा पक्राउ गरिएको हो । महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा चरेशसहित पक्राउ गरेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।