काठमाडौं, वैशाख २६ : त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक वाङ चुनयान विभिन्न देशका अवैध मुद्रासहित पक्राउ परेका छन् । अवैध रुपमा मुद्रालाई विदेश लैजान लागेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले एक लाख नेपाली रुपैयाँ, १३ हजार २० अमेरिकी, ८ हजार ३ सय भारतीय र चाइनिज युयान १ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।
उनी एयर चाइनाको उडानबाट चीनको चेङ्गगडुतर्फ जान लागेका बेला त्रिअविको अन्तर्राष्ट्रिय उडानको प्रस्थानमा ह्याण्ड ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा विभिन्न मुलुकको मुद्रा फेला पारेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।