पर्वत, मंसिर १२ः मोदी गाउँपालिका-२ देउपुर बस्ने २४ वर्षीय सागर जैसीलाई अवैध एकनाले भरूवा बन्दुक १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरको कोठामा कालो कम्बलले बेरेर लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा बस्ने जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भएका ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१ घर भई भक्तपुर चागुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्द प्रसाद पराजुली रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले देवी प्रसादलाई ललितपुर बालकुमारीबाट आइतबार र मुकुन्द प्रसाद पराजुलीलाई भक्तपुर चागुनारायणबाट सोमबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ मंसिर १४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा देवी कृष्ण न्यौपानेलाई ९ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय तथा सोही अदालतको २०७९ साउन १५ गतेको फैसलाले मुकुन्द प्रसाद पराजुलीलाई १५ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भएको थियो । उनीहरूले पीडितलाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
फैसला कार्यान्वयनको लागि पक्राउ परेकामध्ये देवी कृष्णलाई जिल्ला अदालत ललितपुर र मुकुन्द प्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।