अवैध क्रियाकलापहरुमा संलग्न व्यक्तिहरु पक्राउ

| 2021 May 28 | 06:38 pm 2281

काठमाडाैं, जेठ १४ः शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्‍जको सुरक्षामा तैनाथ दि फेमस महिन्द्रदल गण अन्तर्गतमा संचालन
भइरहेको अपरेशन महाहण्ट ७ मा खटिएको नेपाली सेनाको सुरक्षा गुल्म सुन्दरीजल र सुरक्षा पोष्ट मुलखर्कको संयुक्त टोली र निकुञ्‍ज प्रशासन सहितको टोलीहरुले मिति २०७८/०२/१२ गते निकुञ्‍जको कोर ईलाका चिलाउनेबाट १५ के.जी. बदेलको मासु सहित काठमाडाैं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.१, चिलाउने निवासी वर्ष ५० का धन बहादुर तामाङलाई बा २९ प १५७९ नम्बरको मोटरसाईकलमा सुन्दरीजल तर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको छ ।

निज व्यक्तिलाई सुरक्षार्थ खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको छ ।

त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ सिद्धिबक्‍स गणको सुरक्षा पोष्ट चकरी र निकुञ्‍ज प्रशासन सहितको संयुक्त टोलीले मिति २०७८/०२/१२ गते मकवानपुर जिल्ला, मनहरी गा.पा. वडा नं ०३ तल्लो सुकौरामा अवस्थित कमेरो खोल्सा र फरिन खोल्साको वन जंगलमा रुख विरुवा कटान गरी खनजोत गरेर बाली लगाउने र छाप्रो बनाई निकुञ्जको जंगल अतिक्रमण गर्ने मनहरी गा.पा. वडा नं ०३ निवासी बर्ष ६३ का रामलाल थिङ्गलाई पक्राउ गरी निकुञ्ज प्रशासन कार्यालयमा दोहोरो भरपाई गरी बुझाइएको छ ।

त्यसैगरी, प्रकृति संरक्षण कार्यलाई प्रभावकारी बनाउन र निकुञ्जमा हुने अवैध चोरी शिकारीलाई नियन्त्रण गर्नको लागि खप्तड राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ सिंह शार्दुल गुल्मको पट्रोल टोलीले मिति २०७८/०२/१३ गते छन्‍ना गाउँपालिका ५ स्थित घोडादाउन्‍ना पाटन निकुञ्‍जको कोर ईलाकामा अवैध रुपमा जडीबुटी संकलन गरिरहेका ४ जना व्यक्तिहरुलाई सतुवा (काँचो-३५ के.जी.), वन लसुन (काँचो-८ के.जी.) र गदाल्नो (काँचो-१.५ के.जी.) जडीबुटी सहित पक्राउ गरी निकुञ्‍ज प्रशासन कार्यालयमा दोहोरो भरपाई गरी बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.