काठमाडौँ, साउन ८ : अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा सिआईबिले छापा मार्दा दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं १० चारतले चोक स्थित नारायण पौडेलको घरमा भिआेइपीमा प्रयोग हुने विभिन्न सामाग्रीसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं ११ बस्ने ३१ वर्षीय विजय गुरुङ र भरतपुर महानगरपालिका वडा नं १६ बस्ने २२ वर्षीय सुनिल अधिकारी रहेका छन् ।
उनीहरूको साथबाट १२८ पोर्टको ‘भिओआइपी गेटवे’ एक थान , ६४ पोर्टको ‘भिओआइपी गेटवे ‘एक थान, ‘टिपी-लिकं राउन्डर’ एक थान, ‘कर्लस मोबाइल’ एक थान, ‘इन्टेक्स मोबाइल’ एक थान, ‘पेन-ड्रइभ’ एक थान, ‘एसिडको १५५ एम्पायरको ब्याट्री’ एक थान, ‘ इन्भटर’ एक थान, ‘मल्टिपलक’ एक थान, ‘एडोप्टर’ दुर्इ थान, ‘नेपाल टेलिकमको सिम कार्ड’ ३३ थान र ‘एनसेल’को सिम कार्ड ३४ थान भरतपुरबाट बरामद गरिएको छ भने, चन्द्रागिरीबाट ६४ पोर्टको ‘भिओआइपी गेटवे र सो को चार्जर’ एक थान, ल्यापटप र ल्यापटपको चार्जर एक थान, टिप-लिकं रोटर र सोको चार्जर दुई थान र लएन केवल चार थान बरामद प्रहरीले गरेको छ ।
गुरुङले काठमाडौँ चन्द्रागिरी नगरपालिका ५ स्थित हाई भिजन कोलोनी स्थित नारायण श्रेष्ठको घर भाडामा लिई कोठामा ६४ पोर्टको ‘गोइपी डिभाइस’ रहेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि सोमबार प्रहरीले छापा मारेको थियो ।