अवस्था ठिक नभएका २२ ओटा टाटा सुमो जिप ट्राफिक प्रहरीको नियन्त्रणमा

| 2022 Sep 12 | 08:15 pm 1341

काठमाडाैं, भदाै २७ः काठमाडौँको बल्खुमा साेमबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका २२ ओटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा ह्याण्ड ब्रेक नभएका २२ ओटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

नियन्त्रणमा लिएका मध्ये १४ ओटा टाटासुमोलाई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था विभाग मिनभवन पठाईएको र बाँकी ८ ओटा ट्राफिक प्रहरी प्रभाग किर्तिपुरमा राखिएको छ ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आज बिहानैदेखि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको कमाण्डमा ट्राफिक प्रहरीको टोली बल्खु क्षेत्रमा खटिएको थियो ।

अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गते देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिदै आएको छ ।

२३ जना विद्यार्थी चालक ट्राफिक प्रहरीले कारवाहीमा

स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत साेमबार २३ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारवाहीमा परेका छन् ।

त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङघन गर्ने अन्य २ सय ६४ ओटा सवारी साधनका चालक पनि कारवाहीमा परेका छन । जसअन्तरगत बिहानै मापसे गरी पर्यटक बोक्ने माईक्रो बस चलाउने चालक १ जना र मोटरसाईकल चलाउने २ जना पनि कारवाहीमा परेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.