काठमाडौं, माघ २३ : वृद्धि, व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा आएको गिरावटबारे अर्थ मन्त्रालयले राष्ट्र बैंक तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाको पहलमा मंगलबार बसेको आकस्मिक बैठकले समस्या समाधानका लागि गम्भीर छलफल गरेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरद्वय र अन्य पदाधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल बैंकर्स संघका पदाधिकारीलाई बोलाएको थियो। बैठकमा निजी क्षेत्रका प्रतिनिधिसँग सुझाव माग्दै अर्थमन्त्रीले समस्या समाधान गर्न निर्देशन दिएको अर्थ मन्त्रालयका सल्लाहकार रामशरण खरेलले जानकारी दिए।
यसैबीच, बैंकहरूले ब्याज बढाएको विरोधमा सुर्खेत उद्योग वाणिज्य संघले बैंक बहिष्कार गर्ने निर्णय गरेको छ। सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलका अनुसार बैंकहरूले अनियन्त्रित ढंगले ब्याज बढाएको विरोधमा माघ २४ गते सम्पूर्ण उद्योगी व्यवसायीहरूले कुनै पनि बैंकिङ कारोबार नगर्ने भएका छन्। सो दिन वीरेन्द्रनगरमा व्यवसायीले ब्याज बढाएको विरोधमा -यालीसमेत प्रदर्शन गर्ने उनले बताए।
आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक वृद्धिदर हासिल हुँदैन। त्यसैले बाह्य स्रोत परिचालन र प्रवद्र्धनमा समेत ध्यान दिनुपर्छ। त्यसलाई सहजीकरण गर्न म सबै सरोकारवालालाई निर्देशन दिन्छु। राष्ट्र बैंकले छोटो अवधिका लागि मात्र नभई दीर्घकालीन रूपमा लगानीको वातावरण तयार गर्नुपर्छ। बैंक तथा वित्तीय संस्थाहरू औद्योगिक प्रवद्र्धनमैत्री बन्नुपर्छ र समयसापेक्ष साधन परिचालन गर्नुपर्छ। वित्तीय संस्थाले सेवा र व्यवहारमुखी भएर लगानी गर्नुपर्छ।
निक्षेप तानातान नगर्न बैंकहरूलाई बाध्य बनाउन पहिले दिएको निर्देशन कार्यान्वयनका लागि अर्थमन्त्रीले राष्ट्र बैंकलाई सचेत गराएका छन्। त्यस्तै, विदेशबाट बैंक तथा वित्तीय संस्थाले रकम ल्याउन पाउने व्यवस्था भए पनि अहिलेसम्म पैसा किन आएन भन्ने विषयमा पनि बैठकमा छलफल भयो। बाहिरबाट पैसा ल्याउन समस्या भए त्यसको तत्काल समाधानका लागि सहजीकरण गर्न पनि अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका थिए। यसका साथै सरकारको विकास खर्च बढाउन अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयले पहल गरिसकेको जानकारी पनि अर्थमन्त्रीले बैठकमा गराएका थिए।