काठमाडौं,भदौ ५: (एजेन्सी) अमेरिकास्थित नेपालीहरूको घनावस्ति रहेको सानफ्रानसिस्को बे एरियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छन् । नेपाली युवती २७ वर्षीय सुनिता लिम्बुले अगस्ट २१ तारिख बुधवार आफ्नै कोठामा आत्महत्या गरेकी हुन् ।
स्रोतका अनुसार आफ्नै कोठाको पंख्खामा झुण्डिएर उनले आत्महत्या गरेकी हुन् । बुधवार दिउसो नै प्रहरी घटनास्थलमा आएर मुचुल्का उठाई पोष्टमार्टमका लागि शव अस्पतालमा लगेको छ ।
लिम्बुले आत्महत्या गर्नु अगाडि सुसाइड नोट पनि लेखेकी छन् । सुसाइड नोट प्रहरीले अनुसन्धानका लागि राखेको छ । सुसाइड नोटमा के लेखिएको छ भनेर खुलाइएको छैन ।
परिवार स्रोतका अनुसार सुनिता लिम्बु आत्महत्या गर्नु केही बेर अगाडिसम्म घरमा रहेका परिवारका सदस्यहरूसँग राम्रैसँग कुराकानी गरिरहेकी थिइन । बुवा, आमा र परिवारका अरू सदस्यसँगै उनी सानफ्रानसिस्को डाउनटाउन नजिकै वस्तै आएकी थिइन ।
सबै जना घरबाट बाहिर निस्किएको केही बेरमा नै उनले आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण सुसाइड नोटमा लेखिएको भए पनि अनुसन्धान नसकिएसम्म खुलासा नगर्न आफन्त र प्रहरीले अनुरोध गरेका छन् ।
उनका श्रीमान् बेलायतमा वस्तै आएका छन् । उनको एउटा बच्चा पनि छ । सुनिता सानफ्रानसिस्को मै एक जना नेपालीको रेष्टुरन्टमा काम गर्दै आएकी थिइन ।