काठमाडौं, वैशाख १५ : श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले जिल्लाको विकासको लागि गुल्मेली कर्मचारी वर्गको ठूलो मूमिका हुने भएकोले सबै कर्मचारीहरुले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनु पर्ने बताएका छन् ।

गुल्मेली अधिकृत समाजले राजधानीमा राखेको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथिको आशनबाट मन्त्री विष्टले स्थायी सरकाका रुपमा रहेको कर्मचारी वर्गले देश निर्माणका लागि इमान्दारीताका साथ लाग्नुपर्ने र विगतका जिल्लाको विकासका लागि पूर्व सचिवहरुको उल्लेख्य योगदान भएको बताए ।
जनताको चाहाना दिन प्रतिदिन बढ्दै गएको र विकास निर्माणले पनि तिब्रता पाइरहेको यो अवस्थामा गाँउ वस्तीमा युवाको शक्ति फेला पार्न नसकिएको र त्यो शक्तिलाई रोक्न नसकिएकोमा मन्त्री विष्टले चिन्ता व्यक्त गरेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट हरिहर सन्यास आश्रम देवघाटका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले आफ्ना प्राहालिन गुरु परमानन्द सरस्वती महाराजले सुरु गरेको विद्यालय निर्माण अभियानलाई आफूले पनि निरन्तरता दिएको बताएका थिए ।

अधिकृत समाजका अध्यक्ष शंकरप्रसाद खरेलले विगतमा गठन गर्दा अधिकृत समाज बनाइए पनि आगामी अधिवेशनबाट यसलाई परिमार्जित गरी गुल्मेली राष्ट्र सेवक समाज बनाइने बताए ।
यसबाट सबै दर्जाका कर्मचारीको सहभागिता रहने र विभेद नहुने अध्यक्ष खरेलको भनाई रहेको थियो । कार्यक्रममा पूर्व सांसद एवम् विकासप्रेमी नेता रुद्रमणी शर्मा भण्डारी प्रति श्रद्दाञ्जली अर्पण गरिएको थियो भने समाजद्वारा प्रकाशित २०७६ को क्यालेण्डर सार्वजनिक गरिएको थियो ।

नेपाल सरकारका पूर्व सचिव युवराज भुसाल, कृष्ण ज्ञवाली र नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेत लगायत अन्य कर्मचारी विभिन्न पेशामा आवद्ध गुल्मेलीको उपस्थिति रहेको समाजका कोषध्यक्ष अर्जुनप्रसाद आचार्यले बताए ।