अपराध जसले गर्छ र अपराधी जुनसुकै श्रेणीको भए पनि कारबाही हुन्छः प्रधानमन्त्री ओली

| 2018 Sep 17 | 02:21 pm 2248

काठमाडौँ, असोज १ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधी जुनसुकै श्रेणीको भए पनि अपराध गरिसकेपछि अपराधी नै ठहरिने भएकाले कडा कारवाही गरिनेमा ढुक्क हुन पीडित परिवारसँग आग्रह गरेका छन् ।

मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले तीब्र कडाइका साथ छानबिन र कारवाही गर्न आफूले घटना लगत्तै गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउँदै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि फितलो भएकाले उनीहरुलाई निलम्बनसमेत गरिएको र फेरि प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा अर्को शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारी दिए।

छोरी हत्याको अनुसन्धान चाडोँ भन्दा चाडोँ गरी अपराधीमाथि कारबाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित ७ नम्बर प्रदेशका सांसदसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले कुनै ओहोदाका हिसाबले शक्तिशाली भए पनि तर दोषी ठहरिएपछि अपराधी उम्कन नसक्ने बताए ।

प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न मिल्दैन । त्यसैले राज्यले छानबिन गर्छ । कुनै जुलुस र धर्ना नगरे पनि राज्यले कानूनी कारबाही गर्छ । दोषीलाई बचाउने कुरा सोच्न पनि सकिन्न भन्ने प्रधानमन्त्रीले भनाई राखेका थिए ।

प्रधानमन्त्रीले आपराधिक घटनालाई सामान्य रुपमा लिन नहुने बताउँदै जुनसुकै अवस्थामा पनि अपराधीले छुटकारा नपाउने जनाए । निर्मलाकी आमा दुर्गामायाले अपराध लुकाउन विभिन्न तरिकाले प्रमाण नष्ट गरिएको र २ महिना बित्न लाग्दा पनि अपराधीमाथि कुनै कारबाही नभएकाले बाध्य भएर प्रधानमन्त्रीसँग न्याय माग्न आएको गुनासो गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.