अन्तिम मिनेटमा गोल खाएपछि के भने नेपाली प्रशिक्षकले ?

| 2018 Sep 05 | 06:52 am 2842

काठमाडौं, भदौ २०: साफ च्याम्पियनशिपको १२ औँ संस्करणको उपाधि नै जित्ने लक्ष्यसहित बंगलादेशको ढाकामा उत्रिएको नेपाली टोलीले पहिलो खेलमै पाकिस्तानसँग २-१ को हार व्यहोरेको छ । अन्तिम मिनेटमा डिफेन्सको कमजोरीले गर्दा नेपालले नतिजा पाकिस्तानलाई सुम्पन पुग्यो।

यसै सन्दर्भमा ढाकामा रहेका नेपाली प्रशिक्षक बालगोपाल महर्जनले आफूहरुले नचाहँदा नचाहँदै पहिलो म्याच पाकिस्तानसँग हार्न बाध्य भएको बताए। उनले भने, ‘फुटबलमा यस्तो हुन्छ । हामीले यस्ता गल्तीलाई सुधार गरेर अगाडि बढ्ने हो । आजको खेलमा जुन २ वटा चिज नगर्नु पर्ने थियो त्यो गरेर हामी पराजित भयौँ ।’

उनले पहिलो खेलमा डिफेन्समा गल्ती गरेका स्वीकार्दै त्यसबाट पाठ सिक्न डिफेन्समा सुधार गर्नुपर्ने बताए। उनले भने, ‘अट्याकिङबाट पनि हामीले गोल गर्न सकिरहेका छैनौँ ।आज हामीले पाएका अबसरलाई पनि सदुपयोग गर्न सकेनौँ । आजको खेल हार्दैमा हामी प्रतियोगितबाट बाहिरिसकेका छैनौं । अब बाँकी रहेका दुई वटै खेलमा जित निकालेर सफल हुने ठाउँ पनि छ।’

दोस्रो हाफमा निराजन मैदान प्रवेश गरेपछि खेलमा केही सुधार भएको प्रशिक्षक महर्जनको दाबी छ। निराजनले बल पोजिसन र पासहरु मिलाउन सजिलो भएको उनले बताए।

मंगलबारको खेलबाट नेपालले ३ अंक पाकिस्तानलाई सुम्पेको छ। पहिलो खेल हारे पनि पछिल्ला खेलमा हामीले कमब्याक गरिने मर्हजनको विश्वास छ। उनले भने, ‘भलै पछिल्ला खेलहरुमा हामी बढी दबाबमा हुनेछौं । त्यो दबाबलाई चिरेर अघि बढ्न नेपाल तयार छ।

उनले थपे, ‘कम्तीमा आज १ अंक लिएको भए अरु खेलमा हामीलाई अलि सजिलो हुने थियो। हामीले अन्तिम ३० सेकेण्ड धैर्यता राख्न नसक्दा ३ अंक नै गुमाउन बाध्य भयौँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.