अन्तिम अभ्यासमा नेपाली टोली, पहिलो खेल नेपाल र भुटानबीच हुने

| 2019 Mar 10 | 06:57 am 2054

विराटनगर । साफ महिला च्याम्पिसनसीप फुटबल प्रतियोगिता आयोजना हुने विराटनगरको सहिद रंगशाला मैदान तयार छ । काठमाडौं बाहिर पहिलो पटक मंसिर २८ बाट हुन लागेको यो प्रतियोगिताको तयारी पनि निकै दु्रत गतिमा चलिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण रार्ईका अनुसार अब मैदानमा रेखांकन गर्नेबाहेक लगभग धेरै काम बाँकी छैन ।

विराटनगर आइसकेको नेपाली टोलीले शनिबार सहिद मैदानमै अभ्यास गरेको छ । टिम क्याप्टेन हरि खड्काले खेलाडीलाई प्रतियोगिता हुने मैदानमै उतारेर प्रशिक्षण र अभ्यास गराएका छन् । उनले भने,‘‘नेपाली खेलाडीले निकै मेहनतसाथ आफूलाई मैदानमा उतार्दै छ ।’’

कुन टिम कहिले आउने ?

प्रवक्ता राईले प्रतियोगितामा भाग लिने भुटानको टोली काठमाडौमै रहेको बताएका छन् । आइतबार वा सोमबारसम्म भुटान विराटनगर आइपुग्ने छ । बाँकी भारत, बंगलादेश, मालदिभ्स र श्रीलंका पनि काठमाडौं हुँदै विराटनगर आउने छन् ।

नेपालीबाहेक खेलाडी र प्रशिक्षकसहित दुई सयजना विदेशी पाहुना आउने तय भएको छ । खेलाडीको अभ्यासका लागि डीपीएस मैदान, प्रहरी तालिम केन्द्रको मैदान र विराटनगर जुट मिलको मैदान स्तरोन्नति गरिएको छ ।

खेलाडी, अफिसियल, प्रशिक्षक तथा प्रतियोगितासँग सम्बन्धित व्यक्तित्वको बसोबासको लागि विराटनगरका ५ वटा होटल बुक गरिएको छ । राई भन्छन्, “अन्तर्राष्ट्रियस्तरको स्पर्धा भएकोले हामीले मापदण्ड र तयारीमा कमजोरी हुन नदिन सक्दो प्रयास गरेका छौं ।”

प्रतियोगितामा सहभागी हुन पाकिस्तान नआउने भएपछि एन्फाले परिवर्तित खेल तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार गु्रप एमा बंगलादेश, नेपाल र भुटान रहेका छन् । यसैगरी ग्रुप बीमा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

फागुन २८ गते नेपाल र भुटानबीच उद्घाटन खेल हुनेछ । २९ गते भारत र माल्दीभ्स, ३० गते भुटान–बंगलादेश, ३१ गते माल्दिभ्स–श्रीलंका, चैत १ गते बंगलादेश–नेपाल र चैत २ गते श्रीलंका–भारतले खेल्नेछन् । पहिलो र दोस्रो रनरअपको दुबै स्पर्धा चैत ४ गते हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत ५ गते हुनेछ ।

कहाँ पुग्यो तयारी  ?
खेल हुने मैदान बाहिरको अवस्था भने निकै नै कहालीलाग्दो देखिन्छ । रंगशालासम्म आउने सडक कालोपत्रे हुने नहुने भन्ने अझै तय भईसकेको छैन् । विराटनगरमा जारी निर्माणको काम र ठाउँठाउँमा भत्काइएको सडकबाट उड्ने धुलोका कारण खेलमैदानसम्म आउन खेलाडी र दर्शकलाई पनि निकै सास्ती हुने अवस्था छ ।

एन्फा प्रवक्ता राई भन्छन्,‘‘बाहिरको सडकमा कालोपत्रे हाल्न अबेर भए पानी छर्केर धुलो नउड्नेसम्मको बनाउने प्रयास रहने छ ।’’  रंगशाला भित्रको विभिन्न कामको लागि विराटनगर महानगरपालिकाले एक करोड र प्रदेश १ सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएका छन् । प्रतियोगिता सोमबार शुरु हुँदैछ ।

उद्घाटन खेल नेपाल र भुटानबीच हुनेछ । प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने जानकारी गराईसकेको छ ।  सहिद रंगशालाभित्र धेरै पूर्वाधार नयाँ बनाउनु परेकोले अझै काम जारी रहेको छ ।  प्रवक्ता राईको भनाइमा खेलाडीको चेन्जिङ रुम, वेटिङ रुम, मेडिकल रुम र मिडिया सेन्टरको केही काम बाँकी छ ।

भन्छन्, ‘‘हामीले दुई दिनभित्रमा सबै काम सक्ने गरी निकै गति बढाएर काम गराईरहेका छौं ।’’ टिकट बिक्री सोमबारदेखि सुरु हुने राईले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.