भरतपुर, माघ १७ : चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन गरिएको छ ।
आज साँझ भरतपुरको चौबिसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाले दीप प्रज्वलन गरेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुनु खुशीको कुरा भन्दै उनीहरुले रङ्गशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्रिकेट समर्थक समाजका सदस्य सञ्जय धरेलले भरतपुरमा रङ्गशाला निर्माणपछि चितवनलाई अन्तर्राष्ट्रियरुपमा चिनाउन र खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
विद्यार्थी नेता अशोक देवकोटाले भरतपुर महानगरको पहलमा निर्माण हुन लागेको रङ्गशाला समयमै निर्माण सम्पन्न गर्न युवा विद्यार्थीले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा दिपावलीसँगै केक काटेर खुशियाली साटासाट गरिएको थियो । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच आज रङ्गशाला निर्माणका लागि जग्गाप्राप्तिसम्बन्धी काठमाडौँमा सम्झौता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजना गरिएको सो कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो।