अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 23 | 06:22 pm 1611

काठमाडौं, माघ ९ : अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौं सामाखुसी बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई पक्राउ गरेको हो।

सुनसरी धरान नगरपालिका–१९ जिमिचोक स्थायी घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३३ वर्षीय सञ्जिव राईले भाडामा लिएको उक्त घरको १ कोठाबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास भएको थियो।

उक्त सूचना पाएपछि सिआइबी खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूबाट १ सय २८ पोर्टको भिओआइपी गेटवे १ थान, एन्टेना ३२ थान, ल्यापटप १ थान, राउटर १ थान, तार सहितको मिडिया कन्भर्टर १ थान, मल्टिप्लक १ थान, युपिएस १ थान बरामद गरेको छ।

त्यसैगरी नखोलिएको रिचार्ज कार्ड १३ थान, एनटिसी सिमकार्ड १५ थान, एनसेल सिमकार्ड १० थान, स्मार्ट सिमकार्ड ११ थान, एडप्टर १ थान, अप्टिकल बक्स १ थान, प्रयोग नभएका सिमकार्ड ७ थान, मोबाइल ३ थान र भारतीय गणराज्यबाट जारी भएका राहदानीको फोटोकपी ३० पाना बरामद भएको छ।

अन्तर्राष्ट्रिय भिओआइपी कल चीनमार्फत् ल्याउने, भारतबाट उपकरण ल्याउने, विभिन्न भारतीय नागरिकको कागजातपत्रको आधारमा सिमकार्ड लिने, अनलाइनमार्फत् सम्पर्क गरी कोठा भाडामा लिने, उनीहरुमध्ये १ जनाले भारतमा रही प्रविधिको सहयोग गर्ने गरेको र ३ महिना नेपालमा बसी उक्त कार्य सञ्चालन गर्ने योजनामा उनीहरू रहेको खुल्न आएको सिआइबीले जनाएको छ।

उनीहरूमाथि ‘दूरसञ्चार ऐन, २०५३’ अन्तर्गत थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। सिआइबीले अहिलेसम्म कल बाइपास गर्ने कार्यमा संलग्न ३६ विदेशी र १ सय ३० नेपाली गरी १ सय ६६ जनालाई पक्राउ गरिसकेको छ।

पक्राउ परेकाहरुबाट ११ अर्ब ९१ करोड १ लाख १६ हजार १ सय ६३ रुपैयाँ बिगो माग दाबी गर्दै अदालतमा मुद्दा दायर भएको छ।

त्यस्तै अहिलेसम्म २३ हजार ७५ वटा सिमकार्ड बरामद भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.