अन्तत् नेपाली सेना र कोरियन कम्पनीबीच फाष्टट्र्याकमा सम्झौता भयो

रिपोर्ट नेपाल | 2018 Oct 02 | 07:22 pm 2954

काठमाडौँ, असोज १६ : विगत लामो समय देखि चर्चामा रहेको काठमाडौं तराई द्रुतमार्ग(फाष्टट्र्याक) ले अव पूर्णता पाउने भएको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार मंगलबार नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडौं –तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको समयमै अनेक चर्चा र परिचर्चा हुँदै आएको यो राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको बुझिएको छ ।

कम्पनी छनौट भएपछि आजै मंगलबार एक समारोहबीच सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

यसअघि भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपिआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको थियो । आयोजना प्रमुख खाँणले डिपिआरका लागि छनौट भएको कोरियाको सुसुङ कम्पनीसँग आजै निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको बताएका छन् ।

डिपिआर करीब रु १० करोड १३ लाखको लागतमा आगामी कात्तिक ५ गतेदेखि लागू हुने गरी १ सय ५ दिनभित्र तयार हुने जनाइएकोछ । दु्रतमार्ग डिपीआरका लागि १६ परामर्शदाता कम्पनीले आवेदन दिएका थिए । एशियाली विकास बैँकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दैआएको छ ।

आफैँमा बृहत् र विशिष्ट आयोजना भएकाले समयसीमाभित्र जिम्मेवारी पूरा गर्ने सन्दर्भमा यकिन रेखाङ्कन, सडकको ढाँचा, लागत अनुमान एवं पर्न सक्ने वातावरणीय प्रभावसमेतको विश्लेषणका आधारमा निर्माणसम्बन्धी सबै क्रियाकलाप एकैसाथ अघि बढाइएको आयोजना प्रमुख खाँणले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.