हुम्ला, असाेज ७ः जिल्लाको नाम्खा गाउँपालिका लिमी लाप्चास्थित नेपाली भूभागमा भवन नबनाएको चीनले दाबी गरेको छ। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली उक्त इलाकाको अनुगमनमा गएको थियो। भवन बनाए नजिक पुगेको टोलीलाई चिनियाँ सैनिकले माइकिङ गर्दै ‘फर्किएर आफ्नै सीमामा जान’ अनुरोध गरेको थियो। चिनियाँ पक्षले सीमा नमिचेको माइकबाटै दाबीसमेत गरेको थियो।
चिनियाँ पक्षसँग टाढैबाट माइकबाट वार्ता भयो, लाप्चा पुगेर सिमकोट फर्केका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले भने, चिनियाँ पक्षले आफ्नो जमिन ललुङसम्म रहेको र आफ्नै भूभागमा घर बनाएको जिकिर गर्यो। प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकाय र गाउँपालिका अध्यक्षसहितको टोली अनुगमनमा गएको थियो।
नेपालले अहिलेसम्म आफ्नो सिमाना र भू–भाग कतिसम्म हो भन्ने यकिन नगरेकै कारण मिचिएको नेपाली जमिनबारे केही भन्न सक्ने अवस्था नहरेको हो, लामाले भने। उनले लाप्चाको हराएको भनिएको ११ नम्बर पिलरबारे दुवै देशले खोजी गर्नुपर्ने बताए। चिनियाँले भवन बनाएको क्षेत्र नेपालकै रहेको स्थानीय बासिन्दाले बताउँदै आएका छन्। त्यहाँ पिलर कसरी हरायो, पत्ता लागेको छैन।
२०६६ सालमा लिमी–लाप्चा सडक निर्माण गर्दा नेपाली भूभाग भनेर आफू सो स्थानमा पाल हालेर बसेको स्मरण गर्दै अध्यक्ष लामाले अब राज्यले पिलर खोज्ने काम गर्नुपर्ने बताए। अहिले चीनले बनाएको भवन पहिले लिमीवासीको खर्क भएको उक्त क्षेत्रका वडाध्यक्ष पाल्जोर तामाङले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट