काठमाडाैं, भदाै ७ । बहुचर्चित सुन प्रकरणमा गत साउन १८ गते ठमेलको भियाना होटलबाट पक्राउ परेका दावा लामासँगको सम्पर्क भएको भन्दै गृह मन्त्रालयले अध्यागम विभागका महानिर्देशक झलकराम सुवेदीलाई जिम्मेवारीबाट मुक्त गरेको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको तस्करीको सुन प्रकरणमा अधिकारीकोसमेत संलग्नता रहेको दाबीसहित विभिन्न संचार माध्यममा समाचार सार्वजनिक भएपछि गृहले उनलाई जिम्मेवारीबाट मुक्त गरी मन्त्रालय तानेको हो ।
तस्करी भएको सुन प्रकरण सम्बन्धी अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ । अहिलेसम्मको अनुसन्धानले सुन तस्करीको नाइके दावा छिरिङ रहेको पाइएको छ । गृह मन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारी र नाइके दावाबीच सुन तस्करीको पूर्व सूचना वीच्याट मार्फत् आदानप्रदान भएको देखिन्छ ।