काठमाडौं जेठ १३: मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनको नेतृत्व सभापति शेरबहादुर देउवाले शुरु गरेको नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले बताएका छन् । सभापति देउवाले विपक्षी पार्टीसँग मोर्चाबन्दी निर्माण गरेका छन् । त्यसको विरुद्धमा काँग्रेसले माओवादी केन्द्रसहितको एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षसँग मोर्चा बनाएको छ ।
यस्तै युवा नेता तिमिल्सिनाले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संविधानलाई मिचेर पटक–पटक प्रतिनिधि सभा विघटन गर्ने कार्य गरेपछि ओली–भण्डारीको अधिनायकवाद अन्त्यका लागि कांग्रेसले नेतृत्व गरेर आन्दोलन गर्नुपर्ने दवाव बढेको छ ।
अबको आन्दोलनको अगुवाई गर्ने जिम्मेवारी कांग्रेस सभापति शेरबहादुर देउवाको काँधमा आएकोले हामी लोकतन्त्रवादीहरू एक ठाउँमा उभिन जरुरी भएकोले सबैको साथ लिएर सर्वसत्तावादको विरुद्धमा हामी उभिनु पर्ने तिमिल्सिनाको भनाई रहेको छ ।
केपी ओलीको अधिनायकवादलाई परास्त गर्न कांग्रेस नेता तिमिल्सिनाले सम्पूर्ण तरुण, युवा, विद्यार्थी, लोकतन्त्रवादी र बुद्धिजीवीहरूले बुलन्द आवाज उठाउनुपर्ने बताएका छन् ।
जनताले विश्वास गरेर वामपन्थीलाई करीव दुईतिहाइको बहुमत दिए तर सरकार जनताको काममा भन्दा पनि सरकार टिकाई रहन र भ्रस्टाचारमा ब्यस्त रहयो। देशमा राष्ट्रपति र प्रधानमन्त्रीको निरंकुशता छ, सरकार हरेक कुरामा विफल भएको र जनताप्रति ओली–भण्डारी कत्तिपनि जिम्मेवार नदेखिएकाले भ्रस्ट केपी ओलीको सरकार फाल्नु पर्ने युवा नेता तिमिल्सिनाले बताएका छन् ।
युवा नेता तिमिल्सिनाले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिसमा सरकार अघि बढेको बताए । कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको जति भत्र्सना गरेपनि नपुग्ने बताए ।
कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको र आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिनका साथ साथै राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको युवा नेता तिमिल्सिनाको भनाई रहेको छ
बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गर्दा पनि राष्ट्रपतिले संसद विघटन गरेर देशलाई दुर्घटना तर्फ लगेको तिमिल्सिनाले बताए । कांग्रेसको नेतृत्वमा बहुमतभन्दा बढी सदस्यको सरकार गठनका लागि दाबी बुझाएको थियो । तर राष्ट्रपतिले मध्यराति संसद विघटन गरेर नगर्नुपर्ने काम गरेको उनले बताए ।
सर्वोच्च अदालतप्रति कांग्रेसको ठूलो भरोसा रहेको भन्दै उनले रिटमा माग गरिएअनुसार आदेश हुनेमा आफू आशावादी रहेको बताएका छन् । यस्तै संविधानमाथिको हस्तक्षेप स्वतन्त्र न्यायपालिकाले रोक्ने उनको विश्वास छ ।अदालत स्वतन्त्र न्यायपालिकाले संविधानमाथिको हस्तक्षेप रोक्ने नेता तिमिल्सिनाको विश्वास रहेको छ।