अत्यावश्यक वस्तु बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिए

रिपोर्ट नेपाल | 2020 Mar 26 | 09:37 am 1553

काठमाडौं, चैत १३: सिमाना बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारत र नेपाल दुवै ठाउँमा लकडाउन गरिए पनि मालवाहक गाडी नियमित आइरहेको बताए ।

उनले मङ्गलबार मात्र एकैदिन डिजेलका २३ वटा ट्याङ्कर, पेट्रोलका २० वटा ट्याङ्कर, एलपी ग्यासका सातवटा बुलेट, मट्टीतेलको एक ट्याङ्कर, तरकारी र फलफूल बोकेका २० वटा कन्टेनर तथा खाद्यान्न बोकेका ३० ट्रक भन्सार गराएर भित्रिएको बताए ।

प्रमुख निरौलाका अनुसार तीन दिन यता सिमानालाई पूर्ण रूपमा बन्द गरेर सवारीसाधन र मानिसहरूको ओहोरदोहोरमा प्रतिबन्ध लगाइए पनि पेट्रोलियम पदार्थ र खाद्यान्नको आयातमा कुनै कमी आएको छैन । यसअघि आइतबार र सोमबार मात्र यो नाकाबाट ८ सय ८१ मेट्रिक टन चामल, २ सय ४५ मेट्रिक टन मकै र ८ सय १४ मेट्रिक टन सिमी भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.