अटो रिक्सा दुर्घटना हुँदा गुल्मीमा एकको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2020 Dec 19 | 09:13 am 1990

गुल्मी, पुस ४: गएराति अटो रिक्सा दुर्घटना हुँदा गुल्मीमा एकजनाको मृत्यु भएको छ भने, चारजना घाइते भएका छन्।

गुल्मी दरबार गाउँपालिकाको गैडाकोटबाट तम्घासतर्फ आउँदै गरेको  लु १ ह २७४३ नम्बरको अटो रिक्सा भगारीमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका रेसुंगा नगरपालिका–१२ का ३० वर्षीय चालक तेजबहादुर रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए।

घाइते हुनेमा उक्त अटो रिक्सामा सवार रेसुंगा–१२ का २७ वर्षीय रमेश खत्री, रेसुंगा–२ का १६ वर्षीय रोशन परियार, १८ वर्षीय सुरज परियार र १७ वर्षीय सुनिल बिक घाइते भएका  छन्।

उनीहरूमध्ये गम्भीर घाइते सुरज र सुनिलको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। अन्य दुईजनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ। अटो रिक्सा सडकदेखि करिब २०० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.