अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरी सार्वजनिक

| 2020 Feb 04 | 12:44 pm 1451

काठमाडौं, माघ २१: गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हेटौंडा–११ कि तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीको अनुसन्धानबाट समहमतिमा यौन सम्पर्क र पछि पैसा दिने क्रममा कुरा नमिल्दा विवाद हुँदा अजिताको हत्या भएको खुल्न आएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

घटनामा संलग्न भनिएका २ जना भने अझै फरार रहेको बताइएको छ ।

एसपी राठौरका अनुसार सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा चारैजनाले यौनसम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि अजिताको हत्या भएको हो ।

पैसामा कुरा नमिलेपछि ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर मारेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गरेर शव उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएको जनाइएको छ ।

मृतक अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोवाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गर्न सफल भएको पाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.