बाँके, वैशाख ३१: नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा अचानक आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो ।
ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी भएको र नजिकै रोकिराखेको अर्को ना ४ ख ७०२४ नम्बरको बसमा आगो सल्किँदा दुवै बस जलेर पूर्णरुपमा नष्ट भएका छन् । बसमा आगलागी भएलगत्तै स्थानीयवासीले बारुणयन्त्रलाई खबर गरेका थिए ।
अगलागी नियन्त्रणका लागि बारुणयन्त्र, स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रयासमा आगोलाई १२ बजे नियन्त्रणमा लिएका थिए । बारुणयन्त्र केही ढिलो पुगेका कारण दुवै बस क्षति पुगेको स्थानीयवासीको भनाइ छ । उक्त आगलागीबाट भएको क्षतिको विवरण भने प्राप्त भइ नसकेको स्थानीय वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।