काठमाडौं, असार २०ः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका एक इन्जिनियरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले चाकुपाटमा कार्यरत इन्जिनियर भरतराज आचार्यविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीविरूद्ध तीन करोड २१ लाख ६२ हजार ४ सय २० रूपैयाँ अवैध सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला अनुसार अख्तियारले दायर गरेको अभियोगपत्रमा आचार्यले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७६ जेठ मसान्तसम्म ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ रुपैयाँ आम्दानीमध्ये २ करोड ७ लाख ७९ हजार ९ सय ८३ रुपैयाँ मात्रै वैध भएको देखाएको छ ।
बाँकी ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँ अवैध तरिकाले धन आर्जन गरेको देखिएकाले मुद्दा दर्ता गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । उनका अनुसार इन्जिनियर आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारीसाधन खरिद लगायतमा खर्च गर्ने गरेका छन्।
अनुसन्धानबाट स्रोत नखुलेको रकम विभिन्न खाताहरूमा जम्मा गर्ने गरेको र अस्वभाविक बैकिङ कारोवार देखिएको अख्तियारको भनाइ छ । उनीविरूद्ध दुई वर्ष कैद सजाय र बिगो बमोजिम जरिवाना माग गरी अख्तियारले आरोपपत्र दायर गरेको छ।