International Day of UN Peacekeepers 2023 को अवसरमा विशेष कार्यक्रम आयोजना

| 2023 May 27 | 08:07 am 1061

काठमाडाैं, जेठ १३ः प्रधान सेनापति महारथी प्रभुराम शर्माले विश्व शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालले द्वन्दग्रस्त सहारा मरुभूमिदेखि कठ्‍याङ्‍ग्रिने माउण्ट हर्मन लगायत विश्वका जटिल स्थानहरुमा कैयौंको जीवन रक्षा गर्नुका साथै जीवनस्तर सुधारमा पुर्‍याएको अतुलनीय योगदान र समर्पणले विश्वका मानिसहरुको सम्मान र प्रशंसा कमाएको बताए ।

२०८० जेठ १२ गते पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ७५ औं International Day of UN Peacekeepers को अवसरमा आयोजित विशेष कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

यस वर्षको International Day of UN Peacekeepers को थिम “Peace Begins With Me” रहेको छ । आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधान सेनापतिले नेपाली शान्ति सैनिकहरु तथा शान्ति स्थापना कार्यमा संलग्न नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल नेपालका सकलदर्जाहरु संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित लक्ष्य र उद्देश्यहरु पूरा गर्न दृढ रहेको कारण नै नेपाल संयुक्त राष्ट्रसंघको एक विश्वसनीय सदस्यको रुपमा रहेको बताए।

उनले शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको एक महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै विश्व शान्ति स्थापनार्थ विश्वसनीय र पेशेवर सेनाको योगदान पुर्‍याउने राष्ट्रहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको बताए ।

सम्बोधनकै क्रममा उनले विश्व शान्ति स्थापनार्थ आफ्नो ज्यानको आहुती दिने वीर सैनिकहरु प्रति श्रद्धाञ्‍जली अर्पण गर्दै उनीहरुले पुर्‍याएको योगदानको संयुक्त राष्ट्रसंघ, राष्ट्र र नेपाली सेनाले सदैव सम्मान र कदर गर्ने बताए ।

कार्यक्रमको दौरान प्रधान सेनापतिले विश्‍व शान्ति स्थापनाको सिलसिलामा वीरगती प्राप्त गरेका शान्ति सैनिकहरुको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण गर्नुका साथै संयुक्त राष्ट्रसंघको झण्डोत्तोलन गरेका थिए । उनले यस बर्ष शान्ति स्थापना कार्यमा नि:स्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पुर्‍याएका ४ जना सकलदर्जा र वीरगति प्राप्त ३ जना सकलदर्जाका परिवारलाई सम्मान पत्र प्रदान गरे ।

उनले शान्ति स्थापनार्थ कार्यरत रहँदा वीरगति पाउने एकजना नेपाली शान्ति सैनिकको सम्मानमा प्राप्त Dag HammarskjÖld Medal र कदर पत्र उहाँकी श्रीमतिलाई हस्तान्तरण गरे ।

कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोज प्रताप
राणा, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, पाँचखाल नगरपालिकाका मेयर, संयुक्त राष्ट्रसंघीय शान्ति कार्यमा संलग्न हुने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरु, काभ्रेपलाञ्‍चोक जिल्लाका सरकारी निकायका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृत, नेपालमा कार्यरत विभिन्न राष्ट्रका सैनिक सहचारीहरु लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

विश्व शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिने शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरुप हरेक वर्ष नेपाली सेनाले विविध कार्यक्रमको आयोजना गरी International Day of UN Peacekeepers मनाउने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.