काठमाडौँ, पुष २९ / हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेला भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा मेलाको ब्रत शुभारम्भ भएको छ । हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि ब्रत सुरु हुन्छ ।
श्रीस्वस्थानी व्रत तथा माधवनारायणको ब्रत बस्ने व्यक्तिले ब्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।
त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले हनुमानघाटमा ब्रत बस्ने र स्नान गर्ने आउने गरेको स्थानीयहरुको भनाइ छ । ब्रर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर ब्रत पूरा गर्ने र कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागिता जनाउने परम्परा छ ।