काठमाडौँ, आश्विन १० / मनसुन सकिने बेला आइरहँदा मुलुकभर मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुनी प्रणाली सक्रिय भएसँगै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै ५६ जिल्लालाई अत्यधिक वर्षाको जोखिममा राखेको छ । विभागले ती जिल्लामा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।
आज दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आजदेखि आउँदो आइतबारसम्म ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। महाशाखाले विशेष बुलेटिन निकालेर आइतवार बिहानसम्म सातवटै प्रदेशमा आरीघोप्टे पानी पर्ने चेतावनी दिएको हो।
यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् रेड अलर्टमा राखेको छ। महाशाखाले तत्काल धान नकाट्न र ट्रेकिङमा नजान पनि भनेको छ।
महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा भने अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले रेड अलर्ट अर्थात् उच्च सावधानी अपनाउनुपर्ने भनेर सूचीकृत गरेको जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् । यस्तै, सिरहा, सप्तरी र पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप छन्।
यसका अलावा म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाममा पनि उच्च सावधानी अपनाउन महाशाखाले भनेको छ।