काठमाडौँ ८ जेठ / कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको विज्ञप्तिमा प्रतिक्रिया दिएका छन् ।
कानूनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रुपमा तयार रहदा रहदै मूल मुद्दा विषयान्तर गर्न आफूलाई सामान्य सोधपुछसमेत नगरी पक्राउपूर्जी जारी गरिएको उनको टिप्पणी रहेको छ ।
राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन, विज्ञप्तिमा भनेका छन्। सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा मंगलबार पक्राउपुर्जी जारी भएको छ । उनलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरिएको हाे ।