काठमाडौँ १४ चैत / औषधि व्यवस्था विभागले अनलाइन मार्फत औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए ।
विभागमा अनलाइन फार्मेसीको स्वीकृत अहिलेसम्म नलिएको र सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न छुट उल्लेख गरी औषधि गैरकानुनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताए । अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।
औषधिको झुट्टा तथा भ्रामक प्रचार गर्न नहुने कानुनी व्यवस्था भएकोले यस्ता गतिबिधि नगर्न विभागले भनेको छ । ‘सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको महानिर्देशक ढकालले बताए ।