काठमाडौं, मंसिर २७ / संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेयले पाएका छन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा सभामुख घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी निर्वाह गर्न तोकेको संसद सचिवालयले जानकारी दिएको छ।
महासचिव डा भरतराज गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका थिए।
प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभावित भएका कारण सभामुखले पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको संसद् सचिवालयले जनाएको छ।