जाजरकोट, रुकुम र सल्यान, कात्तिक १९ । पम्फा रावत शुक्रबार राति खाना खाईवरी भारतमा रहेका जेठा छोरासँग फोनमा बोल्दै थिइन् । एक्कासि जमिन हल्लिएपछि अत्यासमा परिन् । ‘हेर्दाहेर्दै घर भत्कियो,’ जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँकी उनले भनिन्, ‘घर भत्केर चार जना रातभर पुरियौं । तर भाग्यले बाँच्यौं ।’ भग्नावशेषबाट उनी, उनका पति र २ छोरालाई छिमेकीले शनिबार बिहान ८ बजे सकुशल उद्धार गरे । पम्फाका छिमेकी शुक्रराज रावतको ५ जनाको परिवार पनि रातभरि भत्किएको घरमा पुरियो ।
पत्नी लालीसहित २ छोरा र १ छोरी खाटको चेपमा परेर पुरिएकाले बाँच्न सफल भए । शुक्रराजले सुनाए, ‘भाग्यले बाँचियो ।’
शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रावतगाउँका एकै घरका ६ जनाले ज्यान गुमाएका छन् । अधिकांश स्थानीयको घर भत्किएर ध्वस्त बनेको छ । शनिबार बिहान गाउँमा पुग्दा स्थानीय पुरिएका संरचनाबाट ओढ्ने ओछ्याउने र पकाउने भाँडाकँॅडा निकाल्न प्रयासरत थिए । मृत्यु भएकाको परिवार भने गहिरो शोकमा डुबेका देखिन्थे । भेरी नगरपालिका–२ की मीना टमाटाले शुक्रबार बिहान माटो ल्याएर आधा घर पोतेकी थिइन् । उनले पोतेको घर शनिबार बिहान आधा भत्किएको अवस्थामा थियो । घर भत्केर उनका २ छोरा र श्रीमान् घाइते भए । उनीहरूको जिल्ला अस्पतालमा उपचार चलिरहेको छ ।
‘भारतमा काम गर्न गएका छोराहरू ५ वर्षपछि तिहार मान्न फर्केका थिए । तर यस्तो आपत् आइलाग्यो,’ उनले भनिन् । घर भत्किएका कारण सबै सामान पुरिएको बताउँदै उनले खान र बस्नको समस्या भएको बताइन् । ‘कुनै सामान निकाल्न पाएनौं, बस्ने खानेको टुंगो पनि छैन,’ उनले भनिन् । उनका अनुसार भूकम्पमा घर भत्किएका स्थानीयले रातभर आगो बालेर रात कटाएका थिए । अधिकांश भूकम्पपीडित फेरि भूकम्प आउने डरले खलंगा बजारका विभिन्न ठाउँका खुला चौरमा सुतिरहेका छन् ।
स्थानीय जनक केसीले प्रधानमन्त्री र मुख्यमन्त्रीले प्रभावित क्षेत्रमा भ्रमण गरे पनि ओत लाग्ने ठाउँ नभएकालाई खाना र बस्न व्यवस्था नमिलाएको गुनासो गरे । जिल्ला प्रशासनका अनुसार सदरमुकाममा मात्रै विस्थापित झन्डै एक सय परिवारले खुला आकाशमा रात कटाइरहेका छन् । रावतगाउँ मात्रै होइन, सदरमुकाम र आसपासका स्थानीय तहमा भूकम्पका कारण नभत्किएका घर भेट्टाउन मुस्किल छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सन्तोष रोकाले भने, ‘पूरै जिल्लाको जनजीवन अस्तव्यस्त छ । अहिले त घाइतेको उद्धार मात्र भइरहेको छ ।’ उनले कति घर भत्किए भन्ने यकिन तथ्यांक संकलन भइनसकेको बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जिल्लामा सबैभन्दा बढी भेरीसहित कुशे, नलगाड र छेडागाड नगरपालिकामा घरहरू भत्किएका छन् । ‘कच्ची घर सबै चर्किएका छन्,’ उनले भने, ‘क्षतिमध्ये झन्डै ४० प्रतिशत घर पूर्ण रूपमा भत्किएका छन् ।’ उनले भेरी नगरपालिका– १ र ३ मा मात्रै १ सय २० घर भत्किएको विवरण प्राप्त भएको बताए । जिल्ला प्रशासनका अनुसार भूकम्पका कारण झन्डै एक सय वर्ष पुरानो जाजरकोट दरबारसहित झन्डै ५० सरकारी संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासनसहित मालपोत र नापी कार्यालय क्षतिग्रस्त भएका छन् ।
आकाशमुनिको बास
शनिबार राति साढे ९ बजे जाजरकोटको सदरमुकाम खलंगाका भूकम्पपीडित सुत्ने तरखरमा थिए । २८ वर्षीया मनीषा विक तीन महिनाकी छोरी फुल्याउँदै थिइन् । ‘घरमा भए आगोले सेक्थें, बाहिर चिसोले भएर होला, रोएकी छ,’ उनले भनिन् । शुक्रबार रातिको भूकम्पले बस्नै नमिल्ने गरी घर भत्काएपछि उनको परिवार छिमेकी घरको आडैमा ओत लागेर बसेको छ, साथीभाइले ल्याइदिएको लुगाफाटा ओछ्याएर ।
भूकम्पले अन्नपात, लुगाफाटा सबै पुरिए । मनीषाका श्रीमान् सञ्जय गाउँको मेला भर्न गएका थिए । उनकी सासू सियला गाउँमै थिइन् । मनीषाले घर हल्लिएको थाहा पाएपछि हत्त न पत्त चारै छोराछोरी च्यापेर बाहिर निस्किइन् । आङको एकसरो लुगाबाहेक अरू केही निकाल्न पाइनन् । सबै पुरिए । भूकम्पपछि परिवार भेला भएर अरू तीन परिवारसहित छिमेकीको घरमा ओत लागेकी छन् । तीन वर्षकी छोरी, १० वर्षका छोरा र १२ वर्षकी छोरीलाई च्यापेर सुत्ने तरखरमा थिए । भूकम्पपीडितलाई खान, बस्न उचित व्यवस्थापन नहुँदा केटाकेटी, महिला, ज्येष्ठ नागरिकहरूलाई सास्ती छ । कतिपय खुला आकाशमुनि नै सुतेका छन् ।
उपचारमा कठिनाइ
प्रहरीका अनुसार शनिबार रातीसम्म जिल्लाका झन्डै एक सय जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने करिब ५० लाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ । प्रमुख जिल्ला अधिकारी सुनारले जिल्ला अस्पतालमा पर्याप्त औषधि, उपकरण र स्वास्थ्यकर्मी नहुँदा सबै घाइतेको उपचार जिल्लामै सम्भव नभएको बताए । उनले भने, ‘सुर्खेत र नेपालगन्जबाट थप डाक्टर र औषधि मगाएका छौं ।’
जिल्ला अस्पतालमा ५० शय्याको उपचार सुविधा छ । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहले घाइतेको संख्या बढी भएपछि बरन्डा र भुइँमै राखेर उपचार गर्नु परिरहेको बताए । उनका अनुसार अस्पताल ल्याइएका झन्डै १० जनाको उपचार हुन नसक्दा ज्यान गएको छ । ‘बिहानसम्म त घाइतेको उपचारमा ठूलो समस्या थियो, पर्याप्त एम्बुलेन्स र गाडी नहुँदा समयमै अस्पताल पुर्याउन सकेनौं,’ उनले भने, ‘पछि सेनाको हेलिकोप्टर आएपछि सहज भयो ।’
‘न रहे आफन्त, न रह्यो बास’
शुक्रबारको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ भन्दा धेरैले ज्यान गुमाएका छन् । जाजरकोटसँग सिमाना जोडिएका आठबिसकोट नगरपालिकामा २६ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको प्रहरीले बताएको छ । बाँचेकाहरू पनि मृत्यु हुनेको शोकसँगै घर र धनसम्पत्ति गुमेको पीडामा छन् । ‘खाना खाएर सँगै सुतेका आफन्त नै रहेनन्,’ आठबिसकोट–१४ की प्रेमाकुमारी मल्लले सुनाइन्, ‘सबैभन्दा सुरक्षित मानिएको घर नै रहेन ।’
प्रहरीका अनुसार रुकुम पश्चिमको सबैभन्दा ठूलो मानवीय क्षति आठबिसकोट–१४ मा भएको छ । यहाँ २७ जनाको मृत्यु भएको छ । एकै घरमा ४ देखि ५ जनासम्मको मृत्युले गाउँ नै शोकमा डुबेको छ । आठबिसकोट–१४ ज्यामिरकोटको पूर्णगाउँकी अमृता मल्लसहित उनीकहाँ पाहुना आएका अन्य ४ जनाको भूकम्पमा परी ज्यान गएको स्थानीय गणेश मल्लले बताए । उनका अनुसार माइती भेट्न भनेर आएका छिमेकी वडाका पूर्णकुमारी मल्ल र उनकी छोरी भूमिका शाही, नाति लेखनाथ मल्ल र नातिनी आयुषा शाहीको च्यापिएर ज्यान गएको छ । यसबाहेक घरमा रहेका अन्य ३ जना गम्भीर घाइते भएर सुर्खेतमा उपचाररत छन् ।
आठबिसकोट–१४ को छेपारेमा ११, ज्यामिरकोटमा ९, बाँकेडाँडामा ३, हल्दे टोलमा २, बाँकेटोल र पीपलचौरमा १/१ जनाको ज्यान गएपछि पूरै गाउँ शोकमा डुबेको छ । ‘हामीसँग त केही छैन । न आफन्त छन् साथमा, न त खाने दाना र लगाउने नाना,’ स्थानीय गोठे महतराले भने, ‘जसोतसो बाँचेका हामीलाई पनि यसै मरिन्छजस्तो लाग्न थाल्यो ।’ सानीभेरी गाउँपालिकाका केही वडा र आठबिसकोटका प्रायः वडाका घर सबै चर्किएका छन् ।
करिब आधाउधी घरहरू त बस्नै नमिल्ने गरी भत्किएका छन् । भूकम्पको धक्का बेहोरेका रुकुम पश्चिमका दुईवटै स्थानीय तहमध्ये सानीभेरी पहाडी र आठबिसकोट उच्च पहाडी भूगोलमा अवस्थित छ । यहाँका प्रायः घर ढुंगा र माटोको गाह्रोबाट बनेका छन् । यिनै घरमा बढी क्षति भएको छ । भूकम्प प्रतिरोधी घर बनाउन नसकेकै कारण क्षति बढी भएको स्थानीय प्रकाश शाहीले बताए । ‘भूकम्प आउँदा पनि क्षति कम हुने प्रकारका घरहरू बनाउनेबारे हामीले कहिल्यै सोचेनौं । अहिले त्यसैको जोखिम बेहोर्यौं,’ उनले भने ।
मावली गएका तीनको मृत्यु
शुक्रबार रातिको भूकम्पमा परेर सल्यानका दुई बालकसहित तीन जनाको मृत्यु भएको छ । भूकम्पले घर भत्किँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको पीपलचौरस्थित मामाघर गएका बन्गाड कुपिण्डे नगरपालिका–४ गर्चेका नारायण बुढाका ३ वर्षीय छोरा वासुदेव, दार्मा गाउँपालिका–६ मलिबाङकी २५ वर्षीया भूमिका मल्ल र उनका चार वर्षीय छोरा लेखनाथ मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए । तीन वर्षीय बालक वासुदेवको घटनास्थलमै च्यापिएर र मल्ल आमाछोराको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
प्रजिअ खरेलका अनुसार वासुदेवकी आमा भद्रकला देवकोटा, दार्मा–६ मलिबाङ घर भएर आठबिसकोट मामाघर गएकी करुणा मल्ल, बाग्चौर नगरपालिका–६ पातिहाल्नाकी धना ओली घाइते भएका छन् । भूकम्पका कारण जिल्लाभर एक हजार घरमा क्षति पुगेको छ । ३ दर्जन घर पूर्ण रूपमा, २ सय ५० बस्न नमिल्ने र ७ सय २४ मा आंशिक क्षति पुगेको सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले बताए । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जोखिमयुक्त घरका सदस्यलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए । (कान्तिपुरबाट)