कान्ति बाल अस्पतालमा बिरामीको चाँप, शैय्या अभाव

| 2023 Aug 06 | 02:12 pm 1361

काठमाडाैं, साउन २१ । बिरामी बच्चाहरुको चाँप बढेपछि  कान्ति बाल अस्पतालमा शैय्याको अभाव भएको छ ।

देशैभरीका बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ। यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ।

अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरु चाप छ। अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले पर्याप्त शैय्या नहुँदा उपचारमा अफ्ठ्यारो भएको जानकारी दिए। उनले एउटा बेडमा दुईदेखि जना तीन जनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको बताए। अस्पतालमा ३३० शैय्या छ। अस्पतालमा पर्याप्त शैय्या नहुँदा एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति रहेको बताए। उनले नर्सिङ जनशक्तिको पनि अभाव रहेको जानकारी दिए। डा. बसौलाले गत आर्थिक वर्षमा २ लाख बालबालीकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै नौ सय जना उपचारका लागि आउने गरेको बताए।

डा. बसौलाले अस्पतालमा एक जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पुर्याउनुपर्ने अवस्था रहेको बताए। उनले कहिलेकाहिँ दुई जना नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको भन्दै कम्तीमा पनि पाँच सय जनाको हाराहारीमा नर्सिङ जनशक्ती चाहिने बताए। हाल अस्पतालमा दुई सय जना नर्स कार्यरत छन्।

डा.बसौलाले भने, ‘बिरामी संख्या हेर्दाखेरी अहिले गर्मी मौसममा एउटै रेसियोमा बिरामी आउने देखिन्छ। अत्यधिक चाप चाहीँ साउन भदौ महिनामा देखिन्छ। दैनिक हेर्दाखेरी आठ सयदेखि नौ सयको हाराहारीमा ओपीडीमा आउनेको संख्या छ भने इमरजेन्सीमा एक सय ५० देखि दुई सय बिरामी आउने गर्छन्। हाम्रो अहिले तीन सय ३० बेडलेपनि धान्न सकेको छैन। एउटा बेडमा दुई जना तिन जना बसेको देख्न सक्नुहुन्छ।  अब्जरबेसन वार्डमा २४ घण्टामा तीन चार जना बच्चा बसेकोसम्म भेट्न सक्नुहुन्छ। २५ बेडको अब्जरबेसन वार्ड र २५ बेडको इमर्जेन्सी छ। एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति  छ। २५ बेडमा पनि ५०÷६० जना बालबालीका राख्नुपर्ने अवस्था छ। ओपीडी, फार्मेसी, ल्याबको रिपोर्ट हेर्दा दुई चारदिनदेखि बिरामीको अत्यधिक चाप छ।’

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको जानकारी दिनुभयो । कान्ति बालमा ५२ शैय्याको आइसीयु सञ्चालनमा छ।

एक हजार शैय्याको अस्पताल निर्माण गर्ने गरि डिपिआर पूरा भएको जानकारी दिँदै डा. बसौलाले नौ अर्ब ३० करोडको लागतमा पाँच वटा भबन बनाउने योजना रहेको बताए। उनले इमरजेन्सी बाहेक अप्रेसनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए।

डा.बसौलाले भने, ‘एक हजार शैय्याको अस्पताल निर्माण गर्नेगरी डिपिआर पूरा भएको छ। पाँच वटा बील्डीङ बनाउने योजना छ। जसमध्ये तीन वटा हस्पीटल बिल्डीङ र दुई वटा बिल्डिङ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि बनाउन लागेका छौं। खास गरी बेडको संख्या बढाउनुपर्ने देखिन्छ। ३३० बेडले धान्दैन। हामीले ५५० को ओएनएम गरेर स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाइसकेका छौं। त्यो स्वीकृत भएर आएको खण्डमा अस्पतालको बेड संख्या बढ्ने र जनशक्तिपनि बढ्न गइ सेवा प्रबाह गर्न सजिलो हुनेथियो।

अप्रेसन गर्नुपर्ने डेट अलिकति लामो हुन्छ। किनभने नेपाल भरीबाट बालबालिकाको अप्रेसनका लागि रेफरल आउँछ। भनेको जस्तो समयमा अप्रेसनको पालो आउँदैन । जस्तो आज आयो भने ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने हुन्छ, इमरजेन्सी बाहेक।’

जाइकाको सहयोगमा छिट्टै एमआरआई सेवा संचालन गरिने पनि उनले  बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.