हाईअल्टिच्युडका कारण एक भारतीय पर्यटकको मृत्यु

रिपोर्ट नेपाल | 2023 Apr 05 | 05:51 pm 1249

मुस्ताङ, चैत २२: मुस्ताङमा हाईअल्टिच्युडका कारण एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको कर्नाटक राज्य मसुरी कर्नाटक बस्ने ६९ वर्षीय आर नागाराजु राजगोडाको जोमसोम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

भारतदेखि करिब ५/६ वटा गाडी लिएर आएको भारतीय दर्शनार्थी टोली बुधबार मुक्तिनाथ दर्शनका लागि पुगेको थियो । उनीहरू पोखराबाट बेनी–जोमसोम सडकहुँदै मुक्तिनाथ पुगेका थिए । मुक्तिनाथ दर्शन गर्ने क्रममा मृतक राजगोडा हाईअल्टिच्युड भइ ढलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

उनी मुक्तिनाथको कुण्डमा स्नान गरिसकेपछि हाईअल्टिच्युडको समस्या देखिएको थियो । श्वास/प्रश्वासमा समस्या देखिएका भारतीय पर्यटक राजगोडालाई जोमसोम अस्पतालमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो।

मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि ३८ सय मिटरको उचाईमा छ । केहीदिन अघि पनि हाईअल्टिच्युडका कारण एक भारतीय पर्यटकको मृत्यु भएको थियो  । मुक्तिनाथ दर्शन गर्ने क्रममा मृत्यु भएका भारतीय पर्यटकको अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया पुर्‍याएर शव आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मृतकको शव जोमसोम अस्पतालको शव गृहमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.