उद्योगको संख्या अब ६० हजार

| 2022 Jul 09 | 08:01 am 2481

काठमाडौं, असार २५: नेपालमा कुल उद्योगको संख्या ६० हजार नाघेको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६’ अनुसार उद्योग संख्या ६० हजार १ सय ८५ पुगेको हो।  २०७५/०७६ लाई आधार मानेर तथ्यांक संकलन गरिएको विभागले जनाएको छ।

औद्योगिक क्षेत्रमा ५६ हजार ६ सय ११ उद्योग स्थापना भएको विभागको तथ्यांक छ। यसैगरी खानी तथा उत्खनन क्षेत्रमा ३ सय ५६, विद्युत्, ग्यास बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९ सय ९४ र पानीको आपूर्ति ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा २ हजार २ सय २४ उद्योग सञ्चालनमा छन्। चारवटै औद्योगिक प्रतिष्ठानको लागत ८ खर्ब ४६ अर्ब ६६ करोड रहेको जनाइएको छ। यी उद्योगले १२ खर्ब १ अर्ब १७ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा उत्पादन गरेको देखिन्छ। यी वस्तु तथा सेवाले नेपालको अर्थतन्त्रमा ३ खर्ब ५४ अर्ब ५१ करोड रुपैयाँको भ्यालु एड गरेको उल्लेख छ। कुल उद्योगको स्थायी सम्पत्ति ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ छ।

यी ४ प्रकारका औद्योगिक प्रतिष्ठानमा ४ लाख ९१ हजार २ सय २७ व्यक्ति संलग्न छन्। यिनले ३ लाख ८१ हजार ६ सय ८७ जनालाई रोजगारी दिइरहेका छन्। औद्योगिक उत्पादनशील क्षेत्रले ३ लाख ४६ हजार १ सय ४३ जनालाई रोजगारी दिइरहेको विभागको तथ्यांकमा उल्लेख छ। सर्वेक्षणका अनुसार उल्लेखित उद्योगले वार्षिक तलबमार्फत १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्दै आइरहेका छन्। औद्योगिक प्रतिष्ठानमध्ये ७६ प्रतिशत उद्योग २ सय ७० दिन, १९ प्रतिशत १८०–२६९ दिन, ४ प्रतिशत ९०–१७९ दिन र १ प्रतिशत उद्योग ९० भन्दा कम दिन सञ्चालन भएका छन्। पूर्ण उत्पादन क्षमताको २५ देखि ९९ प्रतिशतसम्म सञ्चालन भएका छन्। पूर्ण क्षमतामा नचल्नुमा ४६ प्रतिशत बजार वा मागको कमी, १० प्रतिशत कच्चा पदार्थको अपर्याप्तता, ८ प्रतिशत स्रोतको कमी र ८ प्रतिशत सीपमूलक कामदारको अभाव कारण चल्न नसकेको देखिएको छ। यी उद्योगमा एक दिनमा १८ घण्टाभन्दा बढी काम गर्ने उद्योगको संख्या १ प्रतिशत छ। ६ देखि ११ घण्टा दैनिक काम गर्ने उद्योगको संख्या ७७ प्रतिशत छ।

३४ प्रतिशतले मात्र वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ। १ प्रतिशतले ऋणको प्रतिबद्धता प्राप्त गरेका छन्। यस्तै ५ प्रतिशत साना उद्योग ऋणको प्रक्रियामा छन्। ६० प्रतिशत साना उद्योग ऋण लिने प्रक्रियामा नरहेको विभागको तथ्यांक छ।

विभागले कोभिड—१९ का कारण मारमा परेका उद्योगको पनि तथ्यांक संकलन गरेको थियो। जसअनुसार कोभिड महामारीमा २०७६ चैत्र ११ देखि जारी गरेको ४ महिनाको लकडाउन अवधिमा ६३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्णरूपमा बन्द भएको छ। कोभिडकै कारण २४ प्रतिशत उद्योग आंशिक र १३ प्रतिशत उद्योग मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख छ। लकडाउन अवधिमा ६० प्रतिशत कामदारले बिना तलब सुविधा अस्थायी रूपमा काम छोड्नु परेको थियो। १७ प्रतिशतले कामदारले भने बिनातलब सुविधा कामबाट वञ्चित हुनुपरेको थियो। उक्त समयमा ११ प्रतिशत कामदारले तलब÷सुविधा आंशिक रूपमा कटौती भएको र १२ प्रतिशतले निर्धारित समयभन्दा ढिला तलब पाएका थिए।  उद्योगहरूमा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको संख्या आर्थिक ५ हजार १७ पुगेको छ। ठूला उत्पादनशील उद्योगमा कुल लगानी करिब ६ खर्ब ४४ अर्ब रहेको छ। यी उद्योगले ८ खर्ब २२ अर्बबराबरको वस्तु उत्पादन गर्छन्। राष्ट्रिय औद्योगिक गणना २०६९ मा भने कुल ठूला उत्पादनशील उद्योगको लगानी २ खर्ब ४१ अर्ब र कुल वस्तु उत्पादन ३ खर्ब २२ अर्ब रहेको थियो। यी उद्योगले राष्ट्रिय अर्थतन्त्रमा २ खर्ब ३५ बराबरको भ्यालु एड गरेको तथ्यांकमा उल्लेख छ।  नेपालको प्रथम राष्ट्रिय औद्योगिक गणना २०२२ सालमा भएको थियो। हालसम्म दसौं औद्योगिक गणना सम्पन्न भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.