जनअपेक्षाअनुसार काम गर्नु : देउवा

| 2022 Jan 06 | 08:48 am 2193

काठमाडौँ पुस २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री तथा मन्त्रालयका सचिवहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री तथा सचिवहरूलाई बोलाइ संयुक्त निर्देशन दिएका हुन्।

सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवद्र्धनका सम्बन्धमा प्रधानमन्त्रीले बुँदागत रूपमै निर्देशन दिएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनले जनतालाई दिने सबै सेवा छिटो र छरितो र सबै तहका कार्यालयहरूलाई चुस्त बनाउने गरी काम गर्न प्रधानमन्त्रीले बैठकमा उपस्थित मन्त्री र सचिवहरूलाई निर्देशन दिएको बताए।

प्रधानमन्त्रीले अत्यावश्यक सेवाहरू जनताको घरदैलोमा पुर्‍याउने सरकारको दायित्व भएकाले सोअनुसार काम गर्न, विकास निर्माणका परियोजनाहरूको गति बढाउन आवश्यक झन्झट हटाउने र कानुनी समस्या भए त्यसमा पनि सुधार गर्ने प्रतिवद्धता जनाउँदै उक्त निर्देशन दिएका हुन्। उनले कोभिडको जोखिम कायमै रहेकाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने प्रबन्ध प्रभावकारी रूपमा अघि बढाउन पनि सचिवहरूलाई निर्देशन दिए।

त्यस्तै, कर्मचारीको क्षमता वृद्धि गरेर विकास आयोजनाहरूको कार्यान्वयन पक्षलाई चुस्त बनाउन, राष्ट्रिय गौरवका आयोजनाहरूको गति सन्तोषजनक नभएकाले प्रभावकारी रूपमा काम गर्ने गरी अनुगमन र मूल्यांकन संयन्त्र बनाउन, सम्भावित लगानीका क्षेत्र पहिचान गरी निर्यातलाई बढाउने गरी परियोजनाहरू अघि बढाउन पनि प्रधानमन्त्री देउवाले निर्देशन दिए। स्वदेशी र विदेशी लगानीकर्ताहरूलाई लगानीमा प्रोत्साहन गर्न उचित वातावरण निर्माण गर्न देउवाले प्रोत्साहनका लागि स्वागत र सम्मानमुखी कार्यक्रम पनि जोडेका छन्।

त्यसैगरी उनले जलविद्युत्, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने गरी प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनसमेत सचिवहरूलाई आग्रह गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थाबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराएको बताए। आजको अन्नपुर्ण दैनिक बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.