काठमाडाैं, कात्तिक ९ः बैंकिङ कसुरको मुद्दामा सिन्धु विकास बैंकका दोलालघाट शाखाका शाखा प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका वडा नं. ८ का ३१ बर्षीय सुमन खरेल रहेका छन् ।
दोलालघाट शाखाका शाखा प्रमुख खरेललाई सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबि)ले पक्राउ गरेको हो । बैंकको रकम निकाली बैंकको सम्पत्ति अपचलन गरि बैकिङ कसूर गर्ने कार्यमा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।
बैंकको दोलालघाट शाखाले दैनिक रुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई एन. सि. सि. बैंक सिन्धुपाल्चोक, बाह्रविसे शाखामा रहेको सिन्धु विकास बैंक लि.को खातामा नियमित रुपमा जम्मा गर्ने गरेकोमा शाखा प्रमुख खरेलले बैंकको खातामा जम्मा नगरि आफुले रकम निकाली बैकको सम्पत्ति अपचलन गरि बैकिङ कसूर गर्ने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले एनसीसी बैंकमा रहेको खातामा जम्मा गर्नु पर्ने एक करोड उनासी लाख नब्बे हजार आठ सय पचपन्न रुपैयाँ आफुले निकाली बैकको सम्पत्ति अपचलन गरेका हुन् ।