दैलेख, चैत ३ः कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ। उनको शव ९ दिनपछि अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको हो।
गत फागुन २३ गते कर्णालीमा हामफालेका बालिकाकाे शव मंगलबार दिउँसो कर्णाली नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए।
कर्णाली नदीको किनारमा भेटिएको बालिकाका शव रजनी बडुवालकै रहेको पुष्टि भइसकेको र पोष्टमार्टमका अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठाइने डिएसपी श्रेष्ठले जानकारी दिए। उनकाे शव नदी किनारमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
दैलेखको आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलीपल्ट अर्थात फागुन २४ गते (सोमबार) सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो। त्यसको भोलिपल्ट (मंगलबार) सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको हाे।