लामो दूरीको यातायात पर्याप्त यात्रु नहुँदा खर्च धान्नै मुस्किल

रिपोर्ट नेपाल | 2020 Dec 08 | 08:17 am 3836

कास्की, मंसिर २३ः कोरोना संक्रमणका कारण झन्डै ६ महिनासम्म रोकिएका लामो दूरी (२०० किलोमिटर बढीका गन्तव्य) का सार्वजनिक सवारी गत असोज १ गतेदेखि सञ्चालनमा त आए । तर लामो दूरीमा सञ्चालन भएका ती सवारीले अझैपनि भनेजति यात्रु भेटेका छैनन् । कोरोना महामारीबीच पनि अढाई महिना अघिदेखि गुडिरहेका लामो दूरीका ती सवारी अहिले पनि रित्तै गुड्नुपरेको व्यवसायीको भनाइ छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी झन्डै ६ महिना रोकिएका सवारी असोजदेखि गुड्न थालेपनि व्यवसायीले कमाउन भने नसकेको बताउँछन् । उनका अनुसार अहिले पनि लामो दूरीका सवारीका यात्रु छैनन् । सेवा सुचारु भएको अढाइ महिनाको अवधिमा मुख्य चाँड दसैं, तिहार, छठ परेपनि त्यो बेला पनि यात्रु पाउन नसकेको उनले बताए । तिहारपछि बल्ल यात्रुको केही संख्या बढेको उनले बताए । यात्रुविहीन तरिकाले सेवा दिँदा व्यवसायीले खर्च धान्नसमेत नसकेको अध्यक्ष केसीले बताए ।

‘लामो रुटमा गाडी गुड्न थालेको अढाइ महिना बित्यो, तर यात्रु भने अझै भनेजति पाउन सकिएको छैन । पहिलेजति संख्यामा सवारी सञ्चालन गर्न पनि सकिएको छैन,’ केसीले भने, ‘छोटो दूरीमा केही यात्रु बढेको भएपनि लामो दूरीको सार्वजनिक यातायात सेवाले भने गति लिन सकेको छैन ।’ उनका अनुसार अहिले ७० प्रतिशत मात्र गाडी चलिरहेका छन् । ती गाडीका यात्रुको संख्या करिब २५ प्रतिशत रहेको उनले बताए । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.