दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

रिपोर्ट नेपाल | 2020 Oct 30 | 08:55 am 1415

जुम्ला, कात्तिक १४ः दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् ।

यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ । जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै सङ्क्रमित निको भएपछि दोस्रोपटक पुनः सङ्क्रमण शून्य भएको थियो ।

यहाँका सर्वसाधारणदेखि अधिकांश उच्चपदस्थ व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् । तर, कोरोना सङ्क्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिइएको छ । सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञाजस्ता कार्य गर्दा आलोचना खेप्नुपर्ने स्थिति छ ।

गएको चैतयता जुम्लामा सङ्क्रमित हुनेको सङ्ख्या ३३० पुगेको छ । बुधबारसम्म ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । चन्दननाथ नगरपालिका अर्थात् जुम्लाको सदरमुकाम खलङ्गामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ ।

यहाँका विशेषज्ञ चिकित्सकसमेत सङ्क्रमित भइरहेका छन् । दुई सय ८२ जना निको भएर घर फर्किसकेका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनका अनुसार सक्रिय सङ्क्रमित पाँच जना संस्थागत आइसोलेसनमा र ४३ जना होम आइसोलेसनमा छन् । गएको चैतदेखि यता यहाँका १० हजार ७९२ जनाको आरटी पीसीआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.