गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण

रिपोर्ट नेपाल | 2020 Oct 28 | 07:34 am 3933

काठमाडौं, कात्तिक १२ः नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन् ।

निकुञ्जको करिब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये धेरै भाग जीर्ण छ । उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ । जहाँबाट दैनिक मोटरसाइकल, साइकल लगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन् । जीर्ण पर्खाल ठाउँ ठाउँमा भत्किएको छ । भत्किएका केही स्थानमा काँडे तार लगाए पनि धेरै स्थानमा खुला छ ।

गोकर्णबाट जोरपाटी निस्कने सडक बिस्तार भइरहेकाले धेरै जसो साना सवारी गोकर्णेश्वर मन्दिरबाट माकालबारी निस्कने सानो सडकबाट हिँड्छन् । बिस्तार भइरहेको सडक वर्षामा हिलो र हिउँदमा धुलो हुने भएकाले वैकल्पिक सडक रोज्नु परेको मोटरसाइकलमा यात्रा गरिरहेका दिलेन्द्र रायमाझीले बताए ।

पर्खालभित्रतिर राजनिकुञ्जमा पक्की सडक छ । वैकल्पिक रुपमा उपयोग गर्ने गरी राज निकुञ्जभित्रको सडक खुलाउन गोकर्णेश्वर नगरपालिकाले पटकपटक माग गर्दै आएको छ ।

गोकर्णेश्वर नगरपालिका ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पर्खाल जीर्ण हुँदा साना सवारी जोखिममा परेको, भत्किएको स्थानबाट राज निकुञ्जका वन्यजन्तु आई खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको बताए । नेपाल ट्रष्टको कार्यालयमा यस सम्बन्धी गुनासा धेरै पटक गरिएको उनले सुनाए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.