कैलाली, कात्तिक २ः धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा (असई) काे हत्या भएकाे छ । हत्या हुनेमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक रहेका छन् । उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
गएराति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएपछि आइतबार बिहान नजीकैको मोहना नदीमा शव फेला परेको प्रहरीले बताएकाे छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार उनकाे घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिएको अवस्थामा फेला परेको र अनुसन्धान शुरु गरिएको जानकारी दिए ।
विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् । गए राति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो । सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको बताइएकाे छ ।
नदी पारी भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्र्याउने समूहले प्रसनि विकको हत्या गरेको हुन सक्ने बताइएको छ । गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल शव भेटिएको स्थानदेखि करीब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको छ ।