उपत्यकामा मनपरी ढंगले सार्वजनिक यातयात सञ्चालन गर्दा कोभिड–१९ को संक्रमणको जोखिम

| 2020 Sep 28 | 08:30 am 2713

काठमाडाैं, असाेज १२ः सार्वजनिक यातायात व्यवसायीले कोभिड–१९ महामारीको बेला काठमाडौं उपत्यकामा मनपरी ढंगले सार्वजनिक यातयात सञ्चालन गर्दा कोभिड–१९ को संक्रमणको जोखिम झनै बढेको छ।

यातायात व्यवसायीले कोभिड–१९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ को स्वास्थ्य मापदण्ड प्रभावकारी ढंगले पालना नगर्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। व्यवसायीले निर्देशिकाको धज्जी उडाउँदै विहान र बेलुकाको पिक आवरमा सिट क्षमताभन्दा धेरै यात्रु कोचेर दोब्बरभन्दा धेरै भाडा असुलिरहेका छन्।

त्यतिमात्रै होइन, काठमाडौं उपत्यकामा चल्ने अधिकांश सार्वजनिक सवारी साधनमा स्यानिटाइजर समेत राखेको हुँदैन। बिरलै चालक, सहचालकले मास्क लगाएको देखिन्छ। अनुगमन गर्ने निकाय महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको हेलचेक्राइले उपत्यकामा कोरोना संक्रमण उच्च हुने जोखिम बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम सार्वजनिक यातायातमा पर्याप्त मात्रामा स्वास्थ्य सावधानी नअपनाएको खण्डमा ठूलो मात्रामा संक्रमण फैलिने बताउँछन्। सार्वजनिक यातायातबाट कोरोना संक्रमण फैलिने जोखिम एकदमै उच्च हुन्छ। त्यसैले कसैले पनि हेलचेक्राइ नगरौं, उनले भने, दुई मिटरको सामाजिक दुरी कायम गरेर मात्रै सार्वजनिक यातायात चढ्ने, चढाउने गरौं।

सरकारले गत असोज १ गतेदेखि निषेधाज्ञा हटाएर सार्वजनिक यातायात सञ्चालन गर्न दिएको छ।

व्यवसायीले सरकारले तोकेभन्दा धेरै भाडा उठाएर यात्रु ठगिरहेका छन्। सरकारले सिट क्षमताको आधा मात्रै यात्रु राखेर थप ५० प्रतिशत भाडा लिन पाउने व्यवस्था गरेको छ। जस अनुसार चार किलोमिटरसम्म यात्रा गर्दा १४ न्यूनतम रुपैयाँ भाडा छ। त्यसमा ५० प्रतिशत जोड्दा २१ रुपैयाँ मात्रै हुन आउँछ। तर यातायात व्यवसायीले चार किलोमिटरसम्मकै २५ रुपैयाँ उठाउँछन्। यसमा सम्बन्धित निकाय मौन छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.