प्लाज्मा थेरापिका लागि रगत संकलन

रिपोर्ट नेपाल | 2020 Sep 11 | 09:10 am 2149

काठमाडौं, भदाै २६ः नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितको उपचारार्थ प्लाज्मा थेरापिका लागि रगत संकलन थालेको छ ।

३९ वर्षका खिमबहादुर रानाभाटले प्लाज्मा थेरापिका लागि पहिलो रक्तदानसमेत गरेका छन् । कोरोना निको भएका तनहुँका रानाभाटले अरुलाई पनि रक्तदानका लागि आग्रह गरे । ‘मैले कहिल्यै पनि रक्तदान गरेको थिइनँ,’ उनले भने, ‘कोरोना निको भएपछि मेरो रगतले अरुलाई पनि सहयोग पुग्छ भन्ने थाहा पाएर आएको हुँ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आग्रहबमोजिम विभिन्न संस्थासँगको सहकार्यमा सेवा सुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवा निर्देशक डा. मनिता राजकर्णिकारले जानकारी दिइन् ।

रेडक्रस र नेपाल मेडिकल एसोसिएसनबीच रगत संकलनमा सहकार्य गर्नेगरी सात बुँदे सम्झौता भएको हो । सोसाइटी अध्यक्ष डा. नेत्र तिमिल्सिना र एसोसिएसन अध्यक्ष डा. लोचन कार्कीले दाताको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्यसहित अघि बढ्नेगरी सम्झौता भएको रेडक्रस सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, ब्यागलगायत आवश्यक सामग्री व्यवस्थापन तथा प्लाज्मा बैंक स्थापना गर्नेछ । यसमा चिकित्सक संघले प्लाज्मा संकलनका लागि कोभिड–१९ संक्रमिण भई निको भएका, चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण संकलन गरी दातासँग समन्वय गर्ने जनाइएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.