नेपाल भित्रिने भयो ‘रेमडिसिभिर’

रिपोर्ट नेपाल | 2020 Aug 16 | 08:48 am 1885

काठमाडौं, साउन ३२ः कोरोना संक्रमणका कारण जटिल बिरामी परेकालाई प्रयोग गर्ने रेमडिसिभिरको कालोबजारी मौलाएपछि औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई इन्जेक्सन खरिद गरी ल्याउन स्वीकृति दिएको छ ।

विभागले भारतीय कम्पनी सिप्ला क्लेम, हिटेरो र माइलानलाई इन्जेक्सन ल्याउन शुक्रबार स्वीकृति दिएको जनाएको छ । थप कम्पनीलाई स्वीकृत दिने विषयमा छलफल भइरहेको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए । ‘हामी फाइल अध्ययन गर्दै छौं, त्यसपछि बाँकी कतिलाई स्वीकृति दिने भन्ने विषयमा निर्णय गर्नेछौं’ –उनको भनाइ थियो ।

कालोबजारी बढ्दा समेत अनुगमन गरी कारबाही गर्न नसकेको सरकारले अन्ततः गम्भीर संकट टार्न भन्दै वैधानिक तीन कम्पनीलाई स्वीकृत दिएको हो । परिस्थिति र आवश्यकताअनुसार रेमडिसिभिर ल्याउन अनुमति दिने बताउँदै ढकालले भने– ‘अब केही दिनमै सो इन्जेक्सन नेपालमा प्रयोग हुनेछ ।’ सरकारमाथि चौतर्फी दबाब आएपछि विभागले औषधि ल्याउने स्वीकृति दिएको हो ।

कोरोना संक्रमितका लागि अति प्रभावकारी मानिएको सो इन्जेक्सन नपाउँदा आईसीयू र भेन्टिलेटरमा उपचार गरिरहेका बिरामीको मृत्युदर बढ्न थालेको थियो । इन्जेक्सन नेपाल भित्रिएपछि पहुँचवाला बिमारीले प्रयोग गर्ने बाटो खुला हुनेछ । नेपालमा सो इन्जेक्सन प्रयोग गर्न नपाउँदा हुनेखानेले विभिन्न एजेन्टमार्फत बढी मूल्यमा खरिद गरी प्रयोग गरिरहेका छन् ।

सो इन्जेक्सन एक डोजको करिब ९ हजार रुपियाँ पर्ने अनुमान गरिएको छ । विशेष गरी भारतीय नाका हुँदै प्रमुख शहरदेखि राजधानीसम्म अवैध रुपमा भित्रिएको रेमडिसिभिरको कहाँबाट कसले ल्यायो भन्ने विषयमा सरकारले अनुगमन गर्न सकेको छैन । भारतमा ६ हजार रुपियाँ तिरेर नेपाल भित्र्याएको सो इन्जेन्सन अति गम्भीर बिरामीले प्रतिडोज ४० देखि ५० हजार रुपियाँ खर्चेर प्रयोग गर्ने गरेका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.