हाम्रो नेतृत्व देशलाई भन्दा घरलाई माया गर्ने भएपछि !

रिपोर्ट नेपाल | 2020 Jul 16 | 05:24 pm 7166

  • बसन्त भुजेल

विगत ७० वर्षको अवधीमा नेपालीहरुले धेरै अनुभव गर्न पाए । अनुभवको हिसावले यो भाग्यमानी पुस्ता हो । यस अघि यस्ता अनुभव लिन दशकौं या शताव्दी कुर्नुपथ्र्यो तर अहिले मिनेट मिनेटमा युग फेरिएको छ । मानिसहरुको सोच मिनेट मिनेटमा बदलिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाह त अब उपाहासको पात्र बनिसके । उनले उत्तरको बादशाह र दक्षिणको फिरिङ्गीसँग सतर्क रहन दिएको दिव्यो उपदेश त धोती लागिसक्यो । कसको नजिक को हुने ? भन्ने प्रतिस्पर्धामा राजनीतिक दलहरु जुटिरहेका छन् । हुन त विश्वव्यापीकरणको यो युगमा कुनै पनि मुलुक अछुतो रहन सक्दैन । तर हामी अली उल्टो ढंगले अघि बढ्न थाल्यौं । जस्तो सुकै गरिव र सानो मुलुक किन नहोस् परराष्ट्र मामिला देशको स्वार्थ अनुकुल अघि बढ्छ , तर हामीले त हाम्रो देशको स्वार्थ होइन कि जुनदेशको स्वार्थ अनुकुल अघि बढ्दा आफूलाई व्याक्तिगत तथा क्षणिक दलगत स्वार्थ पुरा हुन्छ त्यसैगर्न थालिसकेका छौं ।

अब त आफ्नो देशको स्वार्थका लागि देखेको, भोगेको यर्थाथ कुरा जस्ताको तस्तै लेखन र बोल्न पनि डर लाग्ने बेला आइसकेको छ । जसरी राणाकालमा सािहत्यकार कृष्णलाल अधिकारीले मकैको खेती किताव लेखेर देशको परिस्थिति उजागर गरेका थिए त्यसरी नै प्रतिकात्मक टिप्पणी गर्ने बेला आइसकेको संकेत देखियो । आफ्नो देशको पक्षमा लेख्नका लागि कलम काँप्ने अवस्था सिर्जना हुनु भनेको धेरै नै खतरनाक लक्षण हो । प्रधानमन्त्रीको कुर्सीमा बसेको मान्छेको बोलीको ठेगान छैन ।

नेपालमा कोरोना आउँदैन, नेपालीले सजिलै पचाउन सक्छन् भन्दै प्रधानमन्त्रीले भाषण गरेको एक साता नवित्दै मुलुकले लकडाउनको नियती बेहोर्नु पर्यो । दक्षिणबाट सलहको वथान उत्तर तिर आउँदै गर्दा कृषि बैज्ञानिकहरुले प्रक्षेपण गरे –‘नेपालमा आउने संभावना छैन ।’ तर बैज्ञानिकहरुको प्रक्षेपण फेल खायो । उनीहरुको प्रक्षेपण पनि प्रधानमन्त्रीको भाषण भन्दा फरक रहेन । राजनीति मात्रै होइन, सेना तिर हेर्यो भने पनि त्यस्तै छ । कोरोनाको यत्रो महामारीमा स्वास्थ्य उपकरण आयात गर्दा भ्रष्टाचारको कुरा आयो । सेनाले जवाफ दिन सकिरहेको छैन । राज्यका अरु संयन्त्र प्रति जनविश्वास गुमे पनि सेनाको साँख बाँकी थियो, त्यो पनि कोरोनाले निल्यो ।

विज्ञहरुको प्रक्षेपण उल्लंघन गर्दै सलह पनि आइसक्यो । अब त खेतीबाली खाएर ठूलो भोकमरी हुने भयो भनेको त यो सलह अली फरक खालको रहेछ । कोरोना भाइरसको अगाडी खासै खतरा खालको होइन रहेछ । हामीले सुनेको जानेको सलह दिउसो घाम लागेको बेलामा सक्रीय राती घाम नलागेको बेलामा निश्क्रिय हुन्थ्यो । यो सलह त ठीक उल्टो । प्राय गरी रातभरी पाँचतारे होटलमा बसेर ब्लुलेवल खाने र खुवाउने रहेछ । आफु मात्रै होइन यहाँका उसका एजेण्टहरुलाई पनि धित मरुन्जेल खुवाउने रहेछ रातभरी । बिहान उठेपछि काठमाडौंको वालुवाटार, शितलनिवास, बुढानिलकण्ठ, खुमलटार भैसेपाटी, ठमेलका होटलहरुमा छ्यापछ्याप्ती पाइन्छ । सलह त गुणकारी रहेछ । भुटेर खान पनि हुँदो रहेछ ।

भारतबाट आएको सलह अझ सजिलो देखिन्छ । उ त रोटीवेटी लिएर आएको रहेछ । उनीहरुले दिएको गाइडलाइन मानेमा प्रधानमन्त्री, अफर समेत गर्ने, नमानेमा आफूलाई अनुकुल हुने गरी प्रधानमन्त्री परिवर्तन गरिदिने ।

विचरा नेपाली जनता आजित भइसके । नेताहरु पनि ठूलो अन्योलमा छन् । एकातिर एमसिसि दिन्छु भन्छ अमेरिकाले । चीनले रेल बन्दरगाह सबै बनाइदिन्छु भन्छ । जापान, मध्यपूर्व कोरिया …. लगायतका मुलुकहरु रोजगारी दिन्छु भन्छन् । तर सर्वसाधरण नेपालीलाई भने कहिले जोर र कहिले विजोर सवारी साधनको नियमले सताइरहेको छ । एउटा कारमा दुई जना मात्रै सवार हुन पाइने । मोटर साइकल र स्कुटरमा श्रीमान–श्रीमती पनि चढ्न नपाइने । रातभरीसँगै सुतेका श्रीमान श्रीमती विहान कतै निस्कँदा एउटै मोटरसाइकल तथा स्कुटरमा चढ्न नपाइने । अब श्रीमान श्रीमतीका पनि आ–आफ्ना गाडी हुने भइहाले । एउटा समुहले त ‘इनफ इज इनफ’ भन्दै अनशन रिले अनशन बस्न लागिसक्यो ।

फेरी जवरजस्ती माक्स लगाउनु पर्ने भएछ । खेतमा धान रोप्न जाँदा गोरुलाई पनि माक्स लगाउनु पर्नेहो कि ? डब्लुएचओले भनेको छ, अब हावाबाटै पनि कोरोना सर्ने रे । यो भाइरस चाँही सजिलो जस्तो छ । किनभने हावाबाट आउनेलाई पिपिइको कुनै अर्थ छैन । अब माक्सका व्यापारी र सरकारलाई डब्लुएचओले ठूलै धक्का पार्ने भयो ।पिपिइ पनि चाहिएन , राहत पनि चाहिएन । केही नेपालीलाई त रामराज्यहुने नै भयो ।

भारतले ठूलो कुरा गर्यो भने तिम्रो रोटीवेटी चाहिएन भनेर थर्काइदिए पुग्यो । हामीलाई चीनको चाउचाउ र चीनका चेलीवेटी नै सुहाउँछ । पहिलो दुखमा काम लाग्छ भनेर दरूदर्शी राजा अंशुवर्माले स्रङचङगम्पोसँग आफ्नी छोरी भृकुटीको बिवाह गराएर आफ्नो देशलाई सुरक्षित बनाएका थिए । तसर्थ हामी ढुक्क छौं । नेपाललाई केही दुःख तथा तकलिफ परेको बेलामा भृकुटी घरघरमा आएर आश्वसन दिन्छिन् । अब के के चिन्ता रोटीवेटी र एमसिसिको ? अब मम, थुप्पा, चाउमिन, पिपिइ, माक्स सबै घरघरमै उपलव्ध हुन्छ । अहिले त भृकुटी घर घरमा पुगेर आश्वसन बाँढ्न थालिसकेकी छिन् ।

पहाडमा बाढी, पहिरो तराइमा डुवान त अब कुनै ठूलो समस्या नै होइन । सँधै भैपरी आउने समस्या हो । यसमा सरकारलाई खासै चिन्ता छैन । देश विदेशबाट आउनेजति राहत आइहाल्छ । कार्यकर्ता पाल्न के गरौं, कसो गरौं भन्न परेन । कहिले काही प्रतिपक्षीहरुले संसदको बैठकमा कुरा उठाउँछन् कि ? भन्ने टेन्सनको अचुक उपाय पनि हाम्रा प्रधानमन्त्रीलाई सुझिसकेको छ । राष्ट्रपति दाहिना भए पछि चाहेको बेला संसद अधिबेशन अन्त्य गरिदिए भइहाल्यो । के को टेन्सन ? प्रतिपक्षीदलहरुलाई पनि अली अली राहत बाँढिदिएपछि मुखमा बुजो लगाउन सकिहालिने रहेछ । तैं चुप मैचुप । धेरै नै चर्को बोलेमा सरिता गिरिलाई जस्तै गरे भइहाल्यो । सांसद रेशम चौधरी जेलमा सडेकै छन् ।

यो देश ठेक्कामा चलाइएको छ होइन ? भन्ने प्रश्न उठाउनेहरुलाई पनि मुखभरीको जवाफ छँदैछ, किनकी जनताले नै चुनेको सरकार हो । जनताले बकाइदा भोट हालेर शासन गर्न पठाएकै हुन् । जनतालाई पनि खासै फरक परेको छैन । केही डलरखेती गर्नेहरुले आफ्नो लाज पचाउन तारे होटलमा गोष्ठी र सेमिनार गर्न पाएकै छन् । कसैलाई आफ्नो कुर्सी बचाउनु छ, कसैलाई रोटी पचाउनु छ । कसैलाई मम चाउमिन पचाउनु छ । कालापानी, लिपेलुक, महाकाली केही होइन, सुस्ता र त्रिवेणी पनि केही होइन, जनतालाई बेवकुफ बनाउने चुनावी एजेण्डा मात्रै हुन् । हुनेवाला केही होइन ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.