ताप्लेजुङ, बैशाख २०ः गएराति ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी हुँदा १२ घर जलेर नष्ट भएको छ । आगाे राति ११ बजे फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रबाट सुरू भएको हो ।
उक्त आगाे शनिबार बिहान साढे ५ बजे आगाे नियन्त्रणमा आएको ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए । आगाे नियत्रण गर्नकाे लागि पाँचवटा दमकल र जेसीभी पनि प्रयाेग गरिएकाे थियाे । आगो नियन्त्रणका लागि पाँचथर सदरमुकाम फिदिमबाट पनि दमकल बोलाइएको थियाे ।
आगो के कसरी लागेकाे थियो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । घटनाको अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।
सोही स्थानमा ५ वर्षअघि पनि यसरी नै भीषण आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए भने करोडौको क्षति भएको थियो ।