नेपाली कांग्रेस रेसुङ्गा नगर समितिद्वारा दिवंगत नेता महेन्द्रप्रसाद श्रेष्ठप्रति शोक व्यक्त

रिपोर्ट नेपाल | 2020 Mar 04 | 04:26 pm 2074

  • मनु सुनार (मनसुन)

गुल्मी, फागुन २१: नेपाली कांग्रेस रेसुङ्गा नगर समिति गुल्मीको आयोजनामा दिवंगत भएका नेपाली कांग्रेसका नेता महेन्द्रप्रसाद श्रेष्ठप्रति शोक व्यक्त गरेको छ । नेपाली कंग्रेस रेसुङ्गा नगरपालिका ८ का वडा सभापति स्वर्गीय महेन्द्रप्रसाद श्रेष्ठ (बाबुकाजी) को छैठौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

तमघासबाट बुटवल जाने क्रममा सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते श्रेष्ठको उपचारको क्रममा ज्यान गएको थियो । नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा चन्द्र भण्डारी तथा पार्टीका जिल्ला नेता, कार्यकर्ता लगायतको उल्लेख्य सहभागीता रहेको श्रद्धाञ्जली सभामा मन्तब्य दिने क्रममा वक्ताहरुले सिद्धबाबाकै कारण धेरैले ज्यान गुमाउनु परेको भन्दै सबै जना स्तब्ध भएका थिए ।

मृत्युमार्गको रुपमा परिणत भईरहेको सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा रहेको सालझण्डी सडकखण्डमा सरकारले चासो नदेखाएको भन्दै वक्ताहरुले आक्रोस समेत व्यक्त गरेका थिए। नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा चन्द्र भण्डारीले सिद्धबाबा खडकखण्डमा पहिरो खस्ने समस्याका कारण २६ सय भन्दा बढी गुल्मेलीहरुले अकालमा ज्यान गुमाउनु परेको बताए । सिद्धबाबा सडकमा खस्ने पहिरोका कारण गुल्मेलीहरुले धेरै मानवीय क्षेति व्यहोर्नु परेको बताउँदै सिद्धबाबाको विकल्पमा रहेको सालझण्डी सडकखण्डलाई पूर्णता नदिएसम्म अझ धेरैले ज्यान गुमाउनु पर्ने बताए ।

नेपाली कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले दिवंगत भएका बाबुकाजीको अकल्पनीय निधनले एक निडर, निष्ठावान सच्चा प्रजातान्त्रिक आन्दोलनका सिहपाहीलाई गुमाउनु परेको बताए । सिद्धबाबाको विकल्प नखोजेसम्म धेरै बाबुकाजी जस्ता निष्ठावान व्यक्तित्वहरुलाई गुमाई रहनुपर्ने बताए ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले पनि सरकारले सिद्धबाबाको वैकल्पिक सडक सहज रुपमा अगाडि बढाएको भए प्रजातान्त्रिक सहयोद्धालाई आफुहरुले गुमाउनु नपर्ने बताए ।

उनले भने, गुल्मी मन्त्रिहरुको खानी बन्यो । दायाँ बायाँ फर्कदा मन्त्रिहरुको कुइना ठोकिन्छ ।तर सिद्धबाबा सडककै कारण मन्त्रीहरुको नाकैअगाडि धेरैले ज्यान गुमाउँदा पनि यतातर्फ कसैको ध्यान नगएको भन्दै आक्रोस व्यक्त गरे ।

गुल्मेलीहरुले सिहँदरबारमा फोटो टाँस्नका लागि मात्र भोट दिएर नजिताएको भन्दै बजेटमा पूर्वाग्रही बन्न नहुने बताए । सालझण्डी सडकखण्डलाई आवश्यक बजेट बिनियोजन गरी छिटो यसलाई पूर्णता दिनुपर्ने बताए ।

कांग्रेस सचिव बिष्णु कुमारी सापकोटाले बाबुकाजीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताइन् । उनले वैकल्पिक रुपमा रहेको सालझण्डी सडकखण्डलाई बजेट बिनियोजन नगरेकै कारण सिद्धबाबा पहिरोमा धेरैले ज्यान गुमाउनु परेको भन्दै सरकारलाई अपराधिको संज्ञा दिए । उनले बजेट अभावमा पूर्णता नपाएको सालझण्डी सडकखण्डलाई आवश्यक बजेट उपलब्ध गराउन माग समेत गरिन् ।

बिशिष्ट अतिथि हरिकुमार श्रेष्ठ, तरुणदल जिल्ला अध्यक्ष भरत भलामी, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी पाण्डे लगायतले स्वर्गीय बाबुकाजी एक इमान्दार, निष्ठावान र जुझारु कार्यकर्ताको पर्याय भएको बताए । साथै सालझण्डी सडकखण्डले पूर्णता पाएमात्र स्वर्गीय बाबुकाजी प्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए । परिवारको तर्फबाट राजकुमार श्रेष्ठले परिवारजनमा पार्टीले गरेको समवेदना व्यक्त प्रति धन्यावाद ज्ञापन गरे ।

कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी, वडाअध्यक्षहरु, नेपाली कांग्रेसका जिल्ला सदस्यहरु, विभिन्न भातृसंगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उल्लेखीय सहभागीता रहेको थियो । नेपाली कांग्रेस रेसुङ्गा नगरसमितिका सभापति छवि पाण्डेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन नगरसचिव अनिल बस्नेतलले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.