अवैध लागूऔषधसहित तीन जना पक्राउ

| 2020 Feb 27 | 05:37 pm 1516

काठमाडौं, फागुन १५: देशका विभिन्न स्थान काठमाडौं, मकवानपुर र कपिलवस्तुबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १९ ईटुवहाल चोकबाट प्रतिबन्धित लागूऔषध बुप्रेनोर्फिन नूफिन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित कामनपा असन ठेगाना भएकी ४५ वर्षीया तारा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातामाटेस्थित सडकमा अवैध लागूऔषध नाईट्रोभेट १४ एम्पुल, उईनरेक्स ८ एम्पुल रसिम्पलेक्स प्लस २४ एम्पुल सहित बारा जितपुर सिमरा उपमहानगरपालिका १ हरिपुरका ४५ वर्षीय महमदआलम देवानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५४२१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका ५ चैनपुरबाट अवैध लागूऔषध चरेश करिब ६ केजी सहित सोही ठाउँ बस्ने ५९ वर्षीया कमला पुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.