प्रतिपक्ष दलद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने

रिपोर्ट नेपाल | 2020 Feb 25 | 07:18 am 1684

काठमाडौं, फागुन १३: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने सहमत भएको छ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार भएको कांग्रेससहित समाजवादी पार्टी र राजपाबीचको बैठकमा संसद् अवरुद्ध नगर्ने विषयमा समझदारी भएको हो।

कांग्रेस सचेतक पुष्पा भुसालले तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने समझदारी भएको बताए। संसद् अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्नो कुरा संसदमा राख्ने तय गरेका हुन्।

फागुन ८ गते बसेको संसद्को बैठकमा कांग्रेसले गोकुल बाँस्कोटा प्रकरणको विरोध गर्दै संसद् अवरुद्ध गरेको अडियो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग राखेको थियो। तर, प्रतिपक्ष दल बाँस्कोटाले राजीनामा दिएसँगै संसद् सुचारु गर्न दिन लचिलो भएको हो।

तीन दलबीच सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा समेत समझदारी भएको छ। छलफलमा कांग्रेसका सचेतक पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की, अतहर कमाल मुसलमान, समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया, राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्णलगायतका नेताहरूको सहभागिता रहेको थियो। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.